१४ आश्विन २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा

१३ साउन, पेरिस । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहेकी छिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन् ।

शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् । पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडिन् ।

सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोश्रोमा १०१.७, तेश्रोमा १००.७, चौथोमा ९९.९, पाँचौंमा १०२.२ र छैटौंमा ९८.२ अंक जोडिन् । शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।

यो स्पर्धामा सुस्मिताकै नाममा कुल ६५४ अंकमा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।

दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित ८ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नोर्वेकी हेग जिनेट, स्विटजरल्यान्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्