४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गण्डकी प्रदेशः पशुमा पूर्णखोप अभियान

१४ साउन, कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ । गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो । खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको पशुपक्षी निर्देशनालय पोखराले गाईभैँसीमा खोरेतविरुद्ध छ लाख १८ हजार आठ सय ३३, भ्यागुते-चरचरेविरुद्ध एचएसविक्यु खोप गाईभैँसीलाई ७९ हजार दुई सय ४४, लम्पीस्किन गाईभैँसीलाई एलएसडी खोप एक लाख एक हजार आठ सय ७२ मात्रा लगाइएको थियो ।

यसैगरी भेडा तथा बाख्रामा पिपिआर खोप ११ लाख ३९ हजार पाँच सय १९, कुकुरलाई रेबिजविरुद्धको खोप ६६ हजार एक सय ५२ र बङ्गुरलाई सिएफएस खोप ४२ हजार चार सय ४८ डोज लगाइएको थियो । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि ८५ पालिकाका सात सय ५९ वटै पालिकाका खोप कार्यक्रम सञ्चालन भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईँ भट्टराईले बताए ।

गत वर्ष निर्देशनालयले पूर्णखोप कार्यक्रमका लागि रु ११ करोड ८४ लाख बजेट विनियोजन गरेकामा रु नौ करोड ५४ लाख ४३ हजार खर्च भएको बताइन्छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।

जिल्लास्थित भेटेरिनरी अस्पतालले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेका हुन् । “पशुमा पूर्णखोप कार्यक्रम गण्डकी प्रदेशमा अत्यन्त प्रभावकारी भएको छ”महानिर्देशक भट्टराईले भने, “खोपकै कारण महामारीजन्य रोगबाट पशुलाई बचाउन र सम्भव भएको छ, यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्