३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र

१४ साउन, बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरेका हुन् । कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्नमात्रै बाँकी रहेको जानकारी दिए । सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताए । हाटबजार सञ्चालनमा ल्याउन खाद्य अधिकार सञ्जालका अध्यक्ष लक्ष्मीराज उपाध्यायले आग्रह गरे ।

चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले कृषि शाखाले जनाएको छ । कृषिउपज सङ्कलन केन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस वर्षभित्र सञ्चालन गर्ने निर्णय गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताए। कृषिउपज सङ्कलन केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन गरी दसैँअगावै सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेका वस्तुलाई सङ्कलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्