३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सिसीटिभी क्यामेरा बिग्रिँदा अपराध अनुसन्धानमा बाधा

१४ साउन, कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका क्षेत्रका बजारमा जडान गरिएका सिसीटिभी क्यामेरा बिग्रिँदा प्रहरीलाई अपराध अनुसन्धान गर्नमा समस्या हुन थालेको छ ।

नगरपालिकाको झलारी, वनसमिति, कलुवापुर लगायतका बजार क्षेत्रमा जडान गरिएका एक दर्जन बढी सिसीटिभी क्यामेरामध्ये तीन मात्रै सञ्चालनमा रहेका छन् । तीन वर्षअघि बजार क्षेत्रका मुख्य चोकमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सिसीटिभी क्यामेरा जडान गरिएका थिए ।

मुख्य चोकका क्यामेरा नै बिग्रिएको अवस्थामा रहेका छन् । गत वर्ष नगरपालिकाले झलारी बजार क्षेत्रमा जडान गरेका सिसिटिभी क्यामेरासमेत बिग्रिएका छन् । प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुर्याउन, चोरी लगायतका घटना नियन्त्रण गर्न, ट्राफिक समस्या समाधान गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सिसि क्यामेरा जडान गरिएका हुन् ।

बजार क्षेत्रका सिसीटिभी क्यामेरा बिग्रिएपछि प्रहरीले सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धान गर्नका लागि बजार क्षेत्रका स्थानीय व्यापारीले पसल अगाडि जडान गरेका सिसिटिभी क्यामेराको सहयोग लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

आइतबार मात्रै झलारी बजार क्षेत्रमा नगरपालिकाको वडा नं ५ का अन्दाजी ४५ वर्षीय खडकबहादुर साउद सडक छेउ घाइते अवस्थामा फेला परे । महाकाली सिँचाइ परियोजनाले निर्माण गरिरहेको नहरको निर्माणाधीन टर्सरीको सरियाले अनुहार छेडेर टाउकोमा पुगेको अवस्थामा उनी फेला परे । तत्कालै प्रहरीको सहयोगमा साउदलाई अस्पताल पुर्याइएको थियो ।

राजमार्गका सिसीटिभी क्यामेरा बिग्रिएको हुँदा प्रहरीले घटनाबारे अनुसन्धान गर्नका लागि स्थानीय व्यापारीले जडान गरेका सिसि क्यामेराकै सहयोग लिनुप¥यो । धेरै जना व्यापारीको सिसी क्यामेरा हेरेपछि मात्रै प्रहरीले घटनाको यथार्थ पत्ता लगायो । “बजार क्षेत्रमा जडान गरिएका क्यामेरा नबिग्रिएको भए सहज रुपमा घटनाबारे जानकारी लिन सकिन्थ्यो”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले भने, “क्यामेरा बिग्रिँदा घटना बारे यथार्थ पत्ता लगाउन निकै सङ्घर्ष गर्नुपरेको छ ।”

राजमार्ग क्षेत्रमा जडान गरिएका एक–दुई बाहेक अधिकांश सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेको उनले जानकारी दिए । बिग्रिएका सिसी क्यामेरा मर्मत सम्भार गर्नका लागि नगरपालिका कार्यालयमा प्रस्ताव पेस गरेको धेरै समय हुँदा पनि मर्मत हुन नसकेको उनको भनाइ छ । आश्वासन पाइने गरे पनि मर्मतको कार्य नभएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्