६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

साउन १५, हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।

कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउँमा भएकाले स्पष्ट बहुमत रहेको छ ।

बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त भएका छन् । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नुवाकोटको ताँदी गाउापालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३।५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री लामिछानेले बताए ।शाह कांग्रेस प्रवक्ता प्रकाशशरण महत जलस्रोत उर्जा तथा सिंचाई मन्त्री हुँदा स्वकीय सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्