७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनपछि सेवाग्राही खुसी

साउन १५, काँक्रेविहार (सुर्खेत) । कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ती स्थानीय तहमा एकीकृत सेवा सञ्चालनमा आएको हो । मुगु र जुम्लाको एक–एक पालिकामा पनि सो सेवा सुरु गर्ने तयारी गरिएका छन् । सेवा केन्द्र सञ्चालनका लागि कार्यालयमा आफ्नै इन्टरनेट, ‘पावर ब्याकअप’को व्यवस्थापन गरिएको छ । विद्युत् लाइन अवरुद्ध भएका बेला पनि सेवा प्रवाह नरोकिएको पालिकाहरूले जनाएका छन् ।

एकीकृत सेवा प्रवाह सुरु गरेपछि कार्यालय पुग्दा हुने अन्योलता, झन्झट हुन छाडेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए । सेवाग्राहीले सेवाका लागि नाम दर्ता गर्नासाथ आवश्यक पर्ने कागजात के हुन् भन्ने कुराको सूची आफैँ ‘जेनरेट’ हुने गरेको छ । उसले भने, “यसले कागजपत्र नपुगेर काम नभएका कर्मचारी पनि सन्तुष्ट हुन्छन् । कागजपत्र ल्याएर फेरि आउँछन् । अर्को कुरा काम गराउनका लागि प्रत्येक फाँट पुग्न परेन । फाइल पुर्याएपछि सेवाग्राही ढुक्कले बस्छन् । काम सकिएपछि खबर आउँछ । सेवा लिन लाग्ने समय पनि पहिल्यै निर्धारण हुन्छ ।” यसले गर्दा सेवाग्राहीलाई सहजता भएको उहाँले बताए । छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप पालिकाले यो कार्य सुरु गरेको उहाँले बताए ।

सरकारी निकायमा सेवाग्राहीको सहजताका लागि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रबाट काम गर्न थालिएको चौरजहारीका उपप्रमुख ईश्वरी शर्मा (बीएम)ले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिका अलि छेउमा पर्छ । चौध वडाको पालिकाका केही वडा टाढा छन् । टाढाबाट आएका सेवाग्राही एउटा मात्र सेवा लिन आए पनि दुई दिनसम्म कुर्नुपर्ने अवस्था थियो । तर अहिले सेवाका लागि लाग्ने समय निर्धारण गरेर काम हुन्छ । यसमा समय कम लाग्छ । सेवा पनि नागरिकले सहज रूपमा लिएका महसुस हामीले गरिरहेका छौँ ।”

दुल्लुले गत चैतदेखि एकीकृत सेवा प्रवाह केन्द्र सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताउनुभयो । यसले नागरिकमा सन्तुष्टि बढेको उहाँले जानकारी दिनुभयो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा पनि एकीकृत सेवा प्रवाह केन्द्रले सेवामा नागरिकको सन्तुष्टि वृद्धि भएको नगरप्रमुख लालवीर भण्डारीले बताए । “पहिले जनता फाइल लिएर कोठाकोठा जानुपथ्यो”, उहाँले भने, “अहिले एकै ठाउँमा बसेर सेवा लिन पाएपछि खुसी छन् ।”

प्रतिक्रिया दिनुहोस्