१५ आश्विन २०८१, मंगलवार
मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

२१ वर्षपछि थिमि ताहनानीमा भैरब नाच

१५ साउन, भक्तपुर । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नं ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।
गुरु पूर्णिमादेखि प्याँख अर्थात नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरब) एक, ज्यापुंगः  एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कूल पाँच जना देवीदेवता रहन्छ ।
अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी (कुमारी), साहिल प्रजापतिले लिपा दाँगी (महालक्ष्मी) र ज्यापुंगचा (हरिसिद्धि) मा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी दिए ।
थिमिका जीवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्यबादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहेका छन् ।
त्यसैगरी बाद्यबादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिब तीन दर्जनको सङ्ख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताए ।
किंबदन्ती अनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्याधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभइ दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले ।
त्यसपछि राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसँग छलफल गरी मानिसमा तान्त्रिक रुपमा भैरवनाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात भैरब नाच सञ्चालनमा आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्