३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति

भेनेजुएलाको राष्ट्रपतिमा मादुरो विजयी पछि विरोध प्रदर्शन थप चर्कियो

१६ साउन, काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थप चर्किएको छ । प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

विपक्षी नेताहरुले नतिजा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । सीएनएनका अनुसार हजारौं भीडले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा आगजनी समेत भएको छ । राजधानी काराकसस्थित राष्ट्रपति भवनमा हजारौं मानिस पुगेका छन् ।

केही प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जान खोज्दा प्रहरीले रबरको गोली प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मदुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको छ ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए । तर, चुनावको नतिजा उल्टो आयो । निकोलस मादुरोले चुनाव जिते पछि विपक्षीले यो नतिजा अस्वीकार गरेका छन् । निर्वाचन आयोगले नतिजामा धाँधली गरेको विपक्षी दलको दाबी छ ।

चुनावी नतिजा अनुसार राष्ट्रपति निकोलस मादुरोले ५१.२ प्रतिशत मत पाएका छन् भने विपक्षी नेता गोन्जालेजले ४४.२ प्रतिशत मत पाएका छन् । मादुरोको जितपछि विपक्षी र जनता आक्रोशित भएका छन् । सडकमा उत्रिएका प्रदर्शनकारीले निकोलस मादुरोको ब्यानर च्यातेका थिए ।

उनीहरूले मादुरोभन्दा अगाडि राष्ट्रपति भएका ह्युगो चाभेजका धेरै मूर्तिहरू ढालेका छन् ।

ह्युगो चाभेजले एक दशकभन्दा बढी समय भेनेजुएलाको नेतृत्व गरे र निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरे । मदुरो विगत ११ वर्षदेखि सत्तामा छन् । हालैको निर्वाचनमा विजयी भएपछि मादुरो अब २०२५ देखि २०३० सम्म सत्तामा रहनेछन् ।

सोमबार टेलिभिजन सम्बोधनमा राष्ट्रपति मादुरोले भेनेजुएलामा ‘कु’को प्रयास भइरहेको दाबी गर्दै विपक्षीको योजना सफल हुन नदिने बताए ।

सीएनएनका अनुसार भेनेजुएला धेरै वर्षदेखि आर्थिक संकटको सामना गरिरहेको छ । अमेरिका र पश्चिमी मुलुकले लगाएको नाकाबन्दीका कारण तेलका लागि चर्चित यो देश विश्वमा एक्लो बन्दै गएको छ ।

विपक्षी दलहरूले निकोलस मादुरोलाई हटाउन गोन्जालेजसँग एकता गरेका थिए । सोमबार साँझ पत्रकार सम्मेलनमा विपक्षी नेता मारिया मचाडोले आफ्नो गठबन्धनलाई सार्वजनिक समर्थन रहेको दाबी गरिन् । सत्तारुढ दलले चुनावमा धाँधली गरेको कारण एडमन्डो गोन्जालेजले जित्न सकेनन् । मचाडो भेनेजुएलामा विपक्षी गठबन्धनका वरिष्ठ नेता हुन् । तर, सर्वोच्चको प्रतिबन्धका कारण उनले चुनाव लड्न पाएनन् । यसपछि उनले गोन्जालेजलाई आफ्नो समर्थन दिएका थिए ।

नतिजा सार्वजनिक भएपछि गोन्जालेजले भेनेजुएलामा के भयो भनेर देश मात्र नभई सारा विश्वलाई थाहा भएको टिप्पणी गरेका छन् । उनले निर्वाचन परिणाममा अनियमितता भएको बताउँदै हिंसात्मक भन्दा पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।

उता, मदुरोको जितमा अमेरिकाले चुनावी नतिजामा विश्वास नगर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गर्दै यो नतिजाले भेनेजुएलाका जनताको मनस्थितिलाई प्रतिबिम्बित नगर्ने बताए ।

त्यसैगरी, संयुक्त राष्ट्र संघ र युरोपेली संघ लगायत धेरै देशले भेनेजुएलामा पारदर्शी ढंगले नतिजा जारी गर्न माग गरेका छन् । उनले प्रत्येक मतदान केन्द्रको मतदान अभिलेख सार्वजनिक गर्न निर्वाचन अधिकृतलाई अपिल गरेका छन् ।

निकोलस मादुरोलाई चीन, रुस र क्युवाजस्ता साथी राष्ट्रहरूको भने समर्थन प्राप्त छ । उनले राष्ट्रपतिलाई लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिएका छन् । तर, छिमेकी मुलुकले त्यसो गरेका छैनन् । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अहिलेसम्म बधाई पनि दिएका छैनन् । यी दुवै देशमा भेनेजुएला जस्ता वामपन्थी विचारधाराका सरकारहरू छन् ।

प्रतिक्रिया दिनुहोस्