३१ भाद्र २०८१, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

खोलाको पानी तानेर सुक्खा पाखामा सिँचाइ गर्ने योजना

१६ साउन, रामेछाप । रामेछाप जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।

खाँडादेवी गाउँपालिका–४ पकरबासको ८० प्रतिशत भूमिमा आफ्नै कार्यकालमा कम्तीमा तरकारी र फलफूल खेतीको लागि सिँचाइ सुविधा पुर्याउने अठोट वडाअध्यक्ष कृष्णप्रसाद पौडेलको छ ।

जिल्लाकै सबैभन्दा ठुलो माडी फाँटमा बाह्रै महिना सिँचाइ हुने गरी लिफ्ट र डिप बोरिङका सिँचाइ आयोजना सञ्चालन भएका छन् भने अन्य क्षेत्रको लागि पनि विभिन्न लिफ्ट सिँचाइको आयोजना सुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

सो वडाको कल्चौँडेमा सिँचाइको लागि भटौली खोलाबाट सिँचाइ आयोजना सुरु भइसकेको उनले जानकारी दिए । त्यस्तै पुछिघाटमा पनि डिप सिँचाइको आयोजना सञ्चालन गरिएको छ ।

सो वडाको सबैभन्दा महत्त्वाकाङ्क्षी योजनाको रूपमा कल्चौँडे खोक लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिएको छ । भटौली खोलाको पानीलाई तानेर गाउँका सिरानमा पुर्याई सिँचाइ गर्ने लक्ष्यका साथ सो योजना सुरु भएको छ ।

हालसम्म भटौली खोलाको पानी १ हजार ५ सय ७२ मिटर माथि तानेर तित्रिबोटको २ लाख लिटरको रिजर्भ ट्याङ्कीमा खसाल्ने काम भएको छ । सुरुमा त्यहीँबाट कल्चौँडे क्षेत्रमा सिँचाइ गर्ने उद्देश्यले योजना निर्माण गरिएको भए पनि कल्चौँडेको लागि अर्को योजना सञ्चालन भएपछि अब सो योजनालाई अर्को लिफ्ट तानेर भीमशेनस्थान र त्यहाँबाट अर्को एक लिफ्ट तानेर राम्चे पुर्याई गाउँभरि सिँचाइको व्यवस्था मिलाउने योजना वडाध्यक्ष पौडेलको छ ।

तित्रीबोटमा पानी झार्न संघीय सरकारको १ करोड ३ लाख रुपैयाँ खर्च भएको छ । सो आयोजनाको ४१ लाख रुपैयाँ खर्च गर्न बाँकी छ । त्यस्तै प्रदेश सरकारले वडा नं ४ र ५ को लागि भनेर यस वर्ष ८० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसबाट भीमसेनस्थान हुँदै राम्चेसम्म पानी तान्न सकिने पौडेल बताउँछन् । राम्चेमा पानी पुर्याएर वडा नं ४ र ५ का सुक्खा क्षेत्रमा वितरण गर्ने योजना उनले सुनाए ।

यदि यो योजनाले पूर्णता पायो भने सुक्खा पाखामा पनि सिँचाई सुविधा पुग्ने छ र स्थानीयले फलफूल तथा तरकारीमा सुक्खा याममा पनि सिँचाई गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्