३१ भाद्र २०८१, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

सङ्खुवासभाका दुई हजार बढी निःशुल्क सेवाबाट लाभान्वित

१८ साउन, किमाथाङ्का । जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् ।

जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट प्राप्तिको प्रावधान छ । स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न वर्गका बिरामी एकाइको सहयोगबाट लाभान्वित भएका छन् । एकाइमार्फत एकमा दुई हजार छ सय ३० जनाले सेवा लिएका छन् ।

सामाजिक सेवा एकाइमार्फत एक हजार सात सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिब छ सय २२, लैङ्गिक हिंसापीडित ७८ र थुनुवा कैदी ४४, अपाङ्गता भएका ५१, असाहय २४ र अन्य ३१ जनासहित दुई हजार छ सय ३० जनाले उपचार सेवा लिएको सूचना अधिकारी खत्रीले बताए ।

सामाजिक सेवा एकाइमार्फत प्रदान गरिएको उपचार सेवामा अस्पतालको रु २८ लाख १२ हजार नौ सय ३७ खर्च भएको अस्पतालले जनाएको छ । यो अस्पतालमा एक वर्षमा ६३ हजार छ सय जनाले सेवा लिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट गत आवमा १८ हजार ८६ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्