४ आश्विन २०८१, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

१८ साउन, चितवन । बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय ३० जना बिरामीले सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या दुई लाख चार हजार पाँच सय छ र आव २०७८/७९ मा एक लाख ५२ हजार पाँच सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको सङ्ख्या थपिँदै गएको उनले जानकारी दिए ।

अस्पतालमा गत आवमा बहिरङ्ग विभागबाट दुई लाख ४६ हजार सात सय २३, आव २०७९-८० मा दुई लाख तीन हजार एक सय १० आव २०७८-७९ मा एक लाख ४२ हजार आठ सय आठ र आव २०७७-७८ मा ८५ हजार पाँच सय ५२ जनाले सेवा लिएका ज्ञवालीले बताए । अस्पतालमा आकस्मिक सेवा लिनको सङ्ख्या पनि बढ्दै गएको उनले उल्लेख गरे ।

मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीका अनुसार गत आवमा १८ हजार एक सय सात जनाले आकस्मिक सेवा लिएका छन् । आव २०७९-८० मा १३ हजार ९७, आव २०७८-७९ मा नौ हजार सात सय १९ र आव २०७७/७८ मा पाँच हजार चार सय १४ ले आकस्मिक सेवा लिएका उनले जानकारी दिए ।

प्रयोगशाला र रेडियोलोजी सेवा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले प्रयोगशाला र रेडियोलोजी सेवा लिएका छन् । यो सेवा लिनेको सङ्ख्या आव २०७९/८० मा ९८ हजार चार सय २४, आव २०७८-७९ मा ४४ हजार सात सय ८४ र २०७७/७८ मा ३३ हजार एक सय १२ थियो ।

अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको सङ्ख्या गत आवमा तीन हजार नौ सय ८०, आव २०७९/८० मा तीन हजार आठ सय ५९ र आव २०७८/७९ मा दुई हजार तीन सय १४ थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले अहिले पनि पर्याप्त स्थान नभएकाले भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भइरहेको बताए । पछिल्ला वर्षमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको बताउँदै सेवालाई थप प्रभावकारी बनाउन सङ्घीय र प्रदेश सरकारले नीतिगत तहबाटै सुधारका योजना बनाउनुपर्नेमा उनले जोड दिए ।

अस्पताललाई गत आर्थिक वर्षदेखि सरकारले एक सय शय्याको स्वीकृत प्रदान गरेको बताउँदै ज्ञवालीले अहिले ९० शय्या सञ्चालन भएरहेको जानकारी दिए । पाँच शय्याको सघन उपचार कक्ष र आठ शय्याको बालसघन उपचार कक्षका लागि छुट्याइएको उनले उल्लेख गरे ।

अस्पतालमा विशेषज्ञ चिकित्सक २५, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ सहित दुई सय ४० जना जनशक्तिले सेवा दिइरहेका डा ज्ञवालीले जानकारी दिए । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदै आइएको बताउँदै पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मिर्गौलाको डायलासिस उपकरण अभावमा बिरामीले धेरै समय कुर्नु परिरहेकाले समस्या भइरहेको उनको भनाइ छ ।

पछिल्ला दिनमा बिरामीको सङ्ख्या वृद्धि भएसँगै शय्या, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढीकरण गर्ने तयारी गरिरहेको डा ज्ञवालीले बताए । उनका अनुसार मातृ शिशु भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्यगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

विशेषगरी छालासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले जानकारी दिए । यहाँबाट मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसूति तथा स्त्री, दन्त चिकित्सालगायत सेवा प्रदान हुँदै आएको छ ।

क्यान्सर अस्पतालमा प्रयोगशालाको नतिजा स्वचालित मेसिनबाट

बिरामी र बिरामीका आफन्तले अस्पतालको प्रयोगशालाको नतिजा लिन लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वचालित मेसिनबाट प्रयोगशालाको नजिता (ल्याब रिपोर्ट) दिन थालेपछि बिरामी, कुरुवा तथा आफन्तलाई नतिजा लिन लामो लाईन बस्नु पर्ने बाध्यता हटेको हो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा प्रयोगशाला रिपोर्ट दिने स्वचालित मेसिन जडान भएपछि लामो लाइनमा बसेर रिपोर्ट लिनुपर्ने बाध्यता हटेको बताए। मेसिनमा रहेको ‘क्युआर स्क्यानर’मा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट भएर आउने उनले जानकारी दिए।

यसअघि अस्पतालमा बिहान रगत जाँच गर्न दिएपछि दिउँसो २ बजे पछि प्रयोगशालाको रिपोर्ट दिइँदै आइएको थियो । यसअघि रिर्पोट लिन लामो लाइन बस्नुपर्नेमा अहिले स्वचालित मेसिनबाट सहज सेवा प्रवाह भइरहेको सेवाग्राही बताउँछन् ।

“अब बिलमा भएको बारकोड स्क्यान गरेपछि तयार भएको रिपोर्ट आफैँले प्रिन्ट निकालेर सहज रुपमा लिन सकिन्छ । प्रयोगशाको रिपोर्ट ढिलो आउने, लाइन बस्नुपर्ने बिरामीको गुनासो अन्त्य भएको छ”,कार्यकारी निर्देशक डा पौडेलले भने । दैनिक नौ सयको हाराहारी नयाँ बिरामीले सेवा लिने गरेको भन्दै उनले प्रयोगशालामा तीन सय ५० को हाराहारीमा रगत जाँच हुने गरेको जानकारी दिए ।

यहाँ नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । किमो र रेडिएसन दिनुपर्ने बिरामीले प्रत्येक पटक चिकित्सकलाई देखाउन आउँदा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा अत्यधिक घुइँचो हुन थालेपछि अस्पतालले स्वचालित मेसिन जडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्