७ आश्विन २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार

महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना पुरा

काठमाडौं । महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार पुरा भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो । २०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेपाल १४–१३ को अवस्थामा थियो । म्याच प्वाइन्ट उषा भण्डारीले जोडिन् र इतिहास लेखाइन् । लिबरो सलिना श्रेष्ठले दिएको बललाई उषाले भारतीय तीन ब्लकरबाट पन्छाउँदै सेन्टर फ्रन्टमा खसालेपछि नेपाली खेलाडी र समर्थकले सेलिब्रेसन गर्न थाले ।
खचाखच भरिएको कभर्ड हलमा समर्थकको उत्साह बेग्लै थियो । प्रशिक्षक, अफिसियल र पदाधिकारीमा पनि खुसीको सिमाना थिएन । नेपाली खेलकुदमा भारतसँग जुनसुकै खेल सधैं महत्वपूर्ण हुन्छ । त्यसमा पनि लगातार बाधक बन्दै आएको टोलीलाई पहिलो पटक हराउँदा खेलाडीहरु उत्साहित सँगै भावुक बनेका थिए ।
नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार घरेलु प्रतियोगितामा ब्यस्त महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार प्रभावशाली प्रदर्शन गरेपनि भारतसँग स्तब्ध हुँदै आएको थियो ।
दक्षिण एसियाली महिला भलिबलमा नेपालले भारतबाहेक अन्य देशलाई लगातार हराउँदै आएको छ । तर भारत नेपालको हरेक प्रतियोगितामा बाधक बनिरहेको थियो ।

भारतको तगारो पन्छाउन नसके पनि पछिल्लो समय नेपालको प्रतिस्पर्धी क्षमता बढिरहेको थियो ।

यही कोर्टमा सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को फाइनलमा नेपाललाई ऐतिहासिक स्वर्ण जित्न भारत तगारो बनेको थियो । भारतले नेपाली खेलाडी र समर्थक घरेलु मैदानमै रुवाएको थियो ।

१३ औं सागको फाइनलमा भारतसँग नेपाल १७–२५, २५–२३, २५–११, २०–२५ र ६–१५ ले पराजित भएको थियो । ९ महिनाअघि एसियन गेम्समा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो ।

नेपालले महिला भलिबलमा एभीसी एसियन सेन्ट्रल जोन २०१९ र २०२१ को उपाधि जित्दा भारत सहभागी थिएन ।

गतवर्ष घरेलु कोर्टमा नै काभा वुमन्स च्यालेन्ज कपमा नेपाल भारतसँग समूह चरणमा ३–१ को सेट ९१२–२५, २४–२६, २५–२१ र २१–२५० मा हारेको थियो । त्यसपछि सेमिफाइनलमा काजाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्