७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

नेपालमा संघीयता आउनुमा मधेशको भूमिका निर्णायक छ : डा.डिला संग्रौला

सिरहा । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मधेश परिवर्तनको पवित्र भूमि भएको बताएकी छिन् । मुलुकमा हरेक आन्दोलन र परिवर्तनको सुरुवात मधेशबाट सुरु भएको उल्लेख गर्दै उनले राष्ट्रपति मात्र पाएर मधेशले चित्त बुझाउन नहुने बताइन् ।
नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समितिले लहानमा गरेको अन्तरक्रियामा बोल्दै डा.संग्रौलाले नेपालमा संघीयता कायम हुनुमा मधेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले मधेश पछाडि पर्नुको कारण जातजाति, वर्ग, लिंग र समूदायबीचमा देखिएको विभेद भएको उल्लेख गर्दै सहमति, सहकार्य र एकता आवश्यक रहेको औंल्याइन् ।
डा.संग्रौलाले पार्टीभित्र रुपान्तरण र आधुनिकीकरण जरुरी रहेको बताउँदै कार्यकर्ताहरुले नेताको वरीपरी घुम्ने प्रबृत्ति त्यागगरी संगठन बनाउन र शक्ति संचय गर्न आग्रह गरिन । उनले अहिलेकै शैलीले कांग्रेस नचल्ने भएकाले पद र शक्तिको पछाडि नलागी संगठन बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई सुझाव दिइन् ।
‘कार्यकर्ताहरु निराशा आउनुहुँदैन । निराशाले समृद्धि र विकास हुँदैन । त्यसैले अब मधेशका नेपाली कांग्रेसका कार्यकर्ताहरु घरघरबाट जाग्नुपर्छ । परिवर्तनका लागि मधेश फेरि जुट्नुपर्छ,’ उनले भनिन् । उनले मधेशमा जातजाती, वर्ग, लिंगबीचको विभेद त्याग गरी एकताबद्ध हुन आग्रह गरिन् ।
जनप्रतिनिधि र नेपाली कांग्रेसबी नंङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने औल्याउँदै उनले मधेशमा भइरहेको प्राकृतिक दोहन, जग्गा बाँझोपन, डुबानको समस्या अन्त्य गर्न सरकारलाई आग्रह गरिन् ।
उनले संविधान संशोधन गर्दा समावेशी सिद्धान्तमा पुनःविचार हुनुपर्ने बताइन । आगामी निर्वाचनमा एक तिहाइ महिलाहरुलाई प्रत्यक्षमा टिकट दिनुपर्ने उनको जिकिर छ । डा.संग्रौलासहित पूर्वमन्त्री एनपी साउद, नेता अब्दुल सतार, गोविन्दबहादुर शाह सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाको भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्