३१ भाद्र २०८१, सोमबार
पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

भरतपुर भ्रमण वषको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान

२० साउन, चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा करिब सात हजारले वृद्धि भई तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो ।
निकुञ्जमा आउने पर्यटकमध्ये भरतपुर महानगर हुँदै भित्रिने सङ्ख्या २७ हजार नौ सय ५६ छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २३ हजार दुई सय ५७ रहेको थियो । सूचना अधिकारी तिवारीका अनुसार भरतपुरबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चार हजार छ सय ९९ बढी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।
भरतपुर महानगर क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको प्रतिशतको हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसै अवधिमा सौराहा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको वृद्धि दर शून्य दशमलव ९४ प्रतिशत मात्रै छ । गत आवमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ मात्र थियो । यसरी हेर्दा दुई हजार पाँच सय ६८ जना पर्यटक मात्र सौराहा क्षेत्रबाट बढेको दखिन्छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानका रूपमा गरिएको प्रचारप्रसारका कारण निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको बताउछन्। महानगरपालिकाले गत फागुन १८ गते भ्रमण वर्षको शुभारम्भ गरेको थियो । अब आउने पर्यटकीय सिजनमा यसको थप प्रभाव पर्ने उनको भनाइ छ ।
प्रमुख दाहालले भने, “अबको मुख्य सिजनमा पर्यटकको सङ्ख्या पक्कै बढ्नेछ ।”महानगरपालिकाले अन्तर्राष्ट्रिय समन्वय उपसमिति बनाएर वाह्य जगतमा चितवनको प्रचारप्रसार गरेको थियो । ३० भन्दाबढी देशमा प्रचार सामग्री र लोगो वितरण गरिएको प्रमुख दाहालको भनाइ छ । ६० भन्दाबढी देशका गैरआवासीय नेपाली महासङ्घका नेतृत्वकर्तालाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्य बनाइएको उनले जानकारी दिए ।
प्रमुख दाहालको भनाइमा भ्रमण वर्ष सुरु भएसँगै महानगरपालिकाको नेतृत्वमा सम्पन्न प्रर्द्धनात्मक कार्यक्रमका कारण पर्यटक बढेका हुन् । भ्रमण वर्षका अवसरमा खेलकुदबाहेकका ५५ भन्दाबढी सानाठूला कार्यक्रम महानगरपालिकामा भएका छन् । यसबाट यहाँका होटल व्यवसायसमेत प्रत्यक्ष लाभान्वित भएको उनी बताउछन् ।
उपप्रमुख चित्रसेन अधिकारी होटल ‘टाइगर टप्स’बन्द भएपछि सुस्ताएको भरतपुरको पर्यटकीय गतिविधि भ्रमण वर्षले केही हदसम्म चलायमान बनाएको दाबी गर्छन् । करिब ५० किलोमिटर सीमावर्ती क्षेत्र रहेको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार भरतपुरमा छ भन्ने कुराको प्रचारप्रासर गर्न महानगरपालिका सफल भएको उपप्रमुख अधिकारीले बताए । उनले भने, “भ्रमण वर्षको प्रभाव देखिएको छ, पर्यटक सङ्ख्या वृद्धि हुनुका साथै केही हदसम्म आर्थिक क्षेत्र थप चलायमान भएको छ । चितवनको आर्थिक, सामाजिक, सांस्कृतिकसहित समग्र पक्षलाई सकारात्मक योगदान दिन भरतपुर भ्रमण वर्ष सफल भएको छ ।”
 भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । निकुञ्ज प्रवेश गर्ने पर्यटक सङ्ख्या बढ्नुमा प्रमुख कारण भ्रमण वर्ष भएको भन्दै उनले पर्यटकीय दृष्टिले अथाह सम्भावन भएको चितवनको पर्यटन प्रर्द्धन तथा विस्तारमा सहयोग पुग्ने कार्यक्रम सञ्चलन गर्नुपर्नेमा जोड दिए ।
अब धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै देवघाटधाम महोत्सवसहित जङ्गल सफारी, म्याराथन दौडलगायत पर्यटन प्रवर्द्र्नमा सहयोग पुग्ने कार्यक्रम गर्ने पक्षमा महानगरपालिका रहेको डा सुवेदीले बताए ।
भ्रमण वर्षका अवसरमा सर्वसाधारणले अवलोकन गर्न सक्नेगरी देवनगरमा अन्यत्रबाट उद्धार गरी ल्याइएको पाटेबाघ राखिएका छन् । पछिल्ला दिनमा देवनगरमा पाटेबाघ हेर्न आउनेको भीड देखिन्छ । यस्तै दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि अर्को महत्वपूर्ण नयाँ गन्तव्य बनेको छ ।
मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आएको विद्यमान अवस्थामा आयोजना गरिएको भरतपुर–भ्रमण वर्षबाट पर्यटन व्यवसायसँगै चितवनसहित आसपासका क्षेत्रको आर्थिक क्षेत्र केही हदसम्म चलायमान भएको छ । महानगरपालिकाले भ्रमण वर्षको आयोजनाबाट समग्र भरतपुरसँगै चितवन र चितवनवासीको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेको छ । यस वर्षको अनुभव र प्राप्त रायसुझावलाई दृष्टिगतगरी आगामी वर्ष पर्यटन क्षेत्रको विकास एवं विस्तारमा सहयोग पुग्ने सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भरतपुर महानगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्