३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलले विद्यालयमा गरेको आक्रमणमा ३० जनाको मृत्यु

२१ साउन, काठमाडौँ ।  गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब एक  सय ५० जना मारिएका छन् ।

“हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विष्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्”, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने । मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताए । इजरायली सेनाले दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ । “हमासको अल–फुरकान बटालियनले आफ्नो आतङ्कवादीहरूलाई लुक्ने र कमान्ड सेन्टरका रूपमा स्कुलहरूको प्रयोग गरिरहेको थियो”, सेनाले विज्ञप्तिमा भनेको छ ।

नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार गाजा सहरमा अर्को स्कुल परिसरमा इजरायली सेनाले यस्तै आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले बारम्बार हमासलाई कमान्ड र कन्ट्रोल सेन्टरका रूपमा वा आफ्ना कमान्डर र लडाकूहरूलाई लुकाउनका लागि नागरिक सुविधाहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ । यसलाई प्यालेस्टिनी समूहले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्