३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

बंगलादेशको घटनापछि भारतले बढायो सक्रियता

२२ साउन, एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर भारतमा शरण लिन पुगेपछि उक्त घट्नाको विषयलाई लिएर भारतले विशेष चासो दिएको छ ।

विद्यार्थी आन्दोलनका कारण देश नै छाड्नुपर्ने अवस्था आएपछि भारतीय प्रधानमन्त्रीकी निकट मानिएकी शेख हसिनासँग मोदीका केही सल्लाहकारहरुले सोमबार नै भेट गरिसकेको भारतीय संचारमाध्यमहरुले समाचार लेखेका छन् । तर भेटमा के गफ भयो भन्नेबारे सार्वजनिक गरिएको छैन् । बंगलादेशमा बढ्दो राजनीतिक अस्थिरतालाई लिएर भारतमा मंगलबार सर्वदलीय बैठक पनि बसेको छ ।

बैठकमा भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, संसदीय मामिलामन्त्री किरण रिजिजुलगायत विपक्षी नेता राहुल गान्धी सहभागी भएको खबर इन्डिया एक्सप्रेसले लेखेको छ । घटनाबारे बैठकमा विदेशमन्त्री जयशंकरले ‘ब्रिफिङ’ गरेका थिए ।

सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक पनि बसेको थियो । बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।  सोमबार साँझ नै हसिनासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेटेका थिए ।

हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर सोमबार साँझ ५ः३६ बजे भारत आइपुगेको र गाजियाबादको हिन्डन एयरबेसमा सेफ हाउसमा रहेको जनाइएको छ । दुई दशक सत्तामा हुँदा हसिनाले भारतसँग असल मित्रको भूमिका निर्वाह गरेकी थिइन् । तर हसिना सत्ताच्यूत भएपछि भारतलाई बंगलादेशसँग नयाँ मित्रता अघि बढाउन कठिन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्