७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

चारवटा संसदीय समितिको बैठक बस्दै

२३ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत बुधबार चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानून, न्याय तथा मानवअधिकार समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायत जंगली जनावरबाट कृषि बालीमा भइरहेको क्षति, मानव वस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा भइरहेको अपूरणीय क्षतिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरुसँग छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्