७ आश्विन २०८१, सोमबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउँछु : अर्थमन्त्री पौडेल  

२३ साउन, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् ।

मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा)सँग छलफल गर्दै मन्त्री पौडेलले  राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरे ।

‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्री पौडेलले भने ।

विगतमा राजश्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको पौडेलको भनाइ छ ।

अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा राष्ट्रिय परिस्थितिको प्रभाव, र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ ।

आयात–निर्यात र उत्पादनमा पनि कमी आएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजश्व संकलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए । करका दरहरू परिवर्तन गर्दा परिपक्कता आवश्यक रहेको उनले बताए ।

‘राजश्व प्रशासनको प्रभावकारी परिचालन गर्दै, राजश्व प्रशासनलाई अनुशासित बनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरुलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजश्व संकलन गर्ने योजना छ। एकतर्फ राजश्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पुरा गर्न सक्नेगरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने, र अर्कोतर्फ व्यावसायीहरुलाई उत्पादन गरि मुनाफाबाट कर तिरी सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर लैजान खोजिरहेका छौँ,’उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलको योजनाले राजश्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले पुजीँबजारलार्य वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पुजीँबजारको विकासको सन्दर्भमा पारदर्शि, परिपक्क ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्