३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

विपद्का कारण १६७ जनाको मृत्यु

२३ साउन, काठमाडौँ । अविरल वर्षाको कारण विपद्का विभिन्न घटनामा परेर अहिलेसम्म १६७ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका बुधबार दिउँसोसम्म बाढी, पहिरो लगायतका विपद्का घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।

जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ५२ जना, दोस्रोमा लुम्बिनी प्रदेशमा ३३ जना, बागमती प्रदेशमा ३० जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १६७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

साथै कर्णाली प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा ४४ जना, कोशी प्रदेशमा ३७ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा १३ जना, मधेश प्रदेशमा १० जना र काठमाडौँ उपत्यकामा ११ जना गरेर जम्मा १९९ जना घाइते भएका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने निको भइसकेकालाई घर फर्काइसकिएको छ ।

साथै कोशी प्रदेशमा ४९ जना, काठमाडौं उपत्यकामा २८ जना, गण्डकी प्रदेशमा १४ जना, बागमती प्रदेशमा १२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना गरेर जम्मा ११० जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४ जना, कोशी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा १–१ जना गरेर ५० जना बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने २६८ वटा घर, १०० वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७६३ वटा पशु चौपायाको मृत्यु भएको छ । यसै अवधिमा विपद्का घटनाबाट ४ हजार २७२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टाको अवधिमा मात्रै पहिरोमा परेर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते तथा ४ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्