३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

अदालतको आदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग

२४ साउन, काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ ।

थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश दिएको हो ।

थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ– मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको छ । कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ ।

सन् २०२३ को राष्ट्रिय चुनावमा जित हासिल गरेर मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । तर उसले सरकारको नेतृत्व गर्न भने पाएन र विपक्षमा बसेको छ ।

सो पार्टीलाई जिताउने श्रेय चर्चित पूर्वनेता पिटा लिमजारोनरात र हालका पार्टी प्रमुख चौथावत तुलाथनलाई दिने गरिन्छ । यी दुवै नेताहरु र पार्टीको प्रमुख कार्यकारी समितिलाई अदालतले १० वर्षसम्म राजनीतिक गतिविधि गर्न प्रतिबन्धसमेत लगाएको छ ।

सो पार्टीले देशको संविधान र कानुनमा संशोधन आवश्यक रहेको भन्दै अभियान चलाउँदै आएको छ । सो पार्टीले युवा र शहरी मतदाताको मन जितेको थियो ।

सो पार्टीको गतिविधिलाई लक्षित गरी निर्वाचन आयोगले अदालतमा मुद्दा दायरसमेत गरेको थियो । सो मुद्दामा गत जनवरीमा फैसला सुनाउँदै अदालतले कानुनमा बदलावको वकालत गर्न बन्द गर्न आदेश दिएको थियो ।

थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्ने र त्यससँग सम्बन्धित संवैधानिक व्यवस्थाको उल्लंघन गर्नेहरुलाई १५ वर्षसम्म सजायँ हुन सक्ने व्यवस्था छ ।

थाइल्याण्डमा कुनै पार्टी भंग भएमा सो पार्टीका सांसदहरुलाई ६० दिनभित्र अरु कुनै दल रोज्नुपर्ने मौका दिइन्छ । अन्यथा उनीहरुको सांसद पद गुम्छ ।

प्रतिक्रिया दिनुहोस्