३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

वर्षायाममा कान चिलाउने र पाक्ने समस्या किन बढ्छ ?

२५ साउन, काठमाडौँ । वर्षायाममा ‘कान चिलायो’ भन्दै अस्पताल आउनेहरुको चाप बढ्छ । यस्तो समस्या त धेरैले झेलिरहेको हुनसक्छ । कान चिलाएपछि धेरैले गर्ने गल्ती भनेको जथाभावी कोट्याउने, तेल हाल्ने हो । कान कोट्याउँदा भित्र घाउ भएपछि त्यो अझ चिलाउन थाल्छ र दुख्न थाल्छ । सहनै कठिन भएपछि अस्पताल आउने गर्छन् ।

यसैगरी कान चिलाउँदा तेल हाल्नुपर्छ भन्ने पुरातन सोचाइ छ । यसले पनि समस्याको हल हुने होइन, थप जटिलता बढ्छ । त्यसैले वर्षायाममा किन कान बढी चिलाउँछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ । साथै यस्तो बेला के गर्ने, के नगर्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

वर्षायाममा किन कान चिलाउँछ ? यसबारे बुझौं ।

हामी सबैलाई थाहा भएकै हो यतिबेला वायुमण्डलमा आर्द्रता बढी हुने भएकाले संक्रमणजन्य कीटाणुहरु सहजै सक्रिय हुन्छन् । यसको असर हाम्रो कानमा पनि पर्छ । कानभित्र ओसिलो भइरहँदा त्यहाँ ढुसी संक्रमण (फंगल इन्फेक्सन) हुन्छ । यसले कान चिलाउने गर्छ ।

यस्तो समस्या सामान्य वा कानको कुनैपनि रोग भएकालाई हुनसक्छ । जब कान चिलाउन थाल्छ हामी कोट्याउन हतारिन्छौं । तपाईंले अनुभव गर्नुभएकै होला, कान जति कोट्यायो उति चिलाउँछ । त्यही कारण हामी कान कोट्याइरहन्छौं । कानको भित्री छाला संवेदनशील हुन्छ, जहाँ कोट्याइरहँदा पिल्सिने, घाउ हुने जोखिम बढ्छ । भित्र घाउ भएपछि कान चिलाउने क्रम अरु बढ्ने मात्र होइन संक्रमण पनि बढ्न थाल्छ ।

यसैगरी कतिपयले कान चिलाउँदा तेल हाल्ने गर्छन् । यो अर्को गल्ती हो । कान चिलाएको बेला तेल हाल्यो भने ढुसी अझ बढ्छ । त्यसैले कान चिलाउँदा तेल हाल्ने वा कोट्याउने गल्ती नगरौं । यदि कान पाकेको छैन, जालीमा प्वाल परेको छैन भने कानलाई सुक्ख राखौं । कान सुक्खा राख्ने र चिलाएको अवस्थामा कोट्याउने वा तेल हाल्ने गरिएन भने यो समस्या आफैं ठीक हुँदै जान्छ । धेरै समय लाग्दैन ।

तर यस्तो समस्या कानको जालीमा प्वाल परेको अवस्थामा अरु बढ्न सक्छ । कानको जालीमा प्वाल छ भने त्यसभित्र पानी पस्दा सजिलै संक्रमण बढ्न सक्छ । यसले गर्दा कान पाक्छ । यो भनेको भित्री कानको समस्या हो ।

कान पाकेको छ वा जालीमा प्वाल परेको छ भने चाहिं चिकित्सकलाई देखाउनुपर्छ । जालीमा सामान्य प्वाल वा संक्रमण भएमा औषधिले निको हुन्छ । चिकित्सकको सिफारिस र परामर्शमा खाने औषधि र लगाउने औषधि प्रयोग गर्न सकिन्छ । यसले कान सुक्खा बनाउँछ र संक्रमण निको हुन्छ ।

कानको संक्रमण हामीकहाँ एकदमै विकराल छ । नेपालको कुनैपनि यस्तो ठाउँ नहोला, जहाँका मान्छेहरुमा कानको समस्या छैन । कानको जालीमा प्वाल पर्ने, पाक्ने समस्या जताततै छ । त्यो समस्या बढ्दै गएपछि भित्री हड्डी खिइन र मक्किन थाल्छ । यो जटिल अवस्था हो ।

प्राय: मान्छे कान चिलाएमा, संक्रमण भएमा आफूखुसी औषधि लगाउँछन् । कानको ढुसी निकाल्ने औषधि लगाउँछन्, जुन सरासर गलत हो । कतिपयले एन्टिबायोटिक पनि आफूखुसी प्रयोग गर्छन् । यस्ता प्रवृत्तिले समस्या ठीक हुने भन्दा अरु बढ्दै जान्छ ।

त्यसैले कान पाक्ने वा जालीमा प्वाल परेको अवस्था छ भने चिकित्सकलाई भेट्नैपर्छ । चिकित्सकले कानको अवस्था हेरेर सामान्य औषधि दिने वा शल्यक्रिया गर्ने भन्ने कुरा टुंगो गर्छन् । शल्यक्रिया पनि सामान्य र अलि विशेष किसिमको हुन्छ । सामान्य शल्यक्रिया भनेको कानको जालीमा परेको प्वाल टाल्ने हो । यस्तो शल्यक्रिया केही समयमै पूरा हुन्छ । यो सहज र छरितो हुन्छ र छिट्टै निको पनि हुन्छ ।

यदि कानको भित्री हड्डी नै खिइन थालेको वा मक्किन थालेको छ भने त्यसको अवस्था हेरेर विशेष किसिमकै शल्यक्रिया गर्नुपर्छ । यस्तो शल्यक्रियाबाट संक्रमित हड्डी हटाउने गरिन्छ र कानको जालीमा परेको प्वाल टाल्ने काम गरिन्छ । त्यसपछि यो समस्या बिस्तारै ठीक हुन्छ ।

सारमा के भन्न सकिन्छ भने वर्षायाममा कान चिलाउने वा संक्रमण हुने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा जथाभावी कान कोट्याउने, औषधि हाल्ने नगरौं । सकेसम्म सुक्खा राखौं । यदि जालीमा प्वाल छ, संक्रमण भइरहन्छ भने चिकित्सकको परामर्शमा उपचार खोजौं । कानको समस्या भएकाहरुले पानीमा धेरै भिज्ने, पौडी खेल्ने नगरौं । यदि भिज्नैपर्ने भए पनि सुरक्षित विधि अपनाऔं ।

प्रतिक्रिया दिनुहोस्