३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

म भ्रष्टाचार गर्दिनँ, कुनै शक्तिसँग पनि झुक्दिनँ : प्रधानमन्त्री ओली

२६ साउन,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन् ।

‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को पदस्थापन र प्रथम क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आएको बताए ।

उनले भने, ‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोका बालबालिका र मानिसलाई खान र लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन । हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ ।’

प्रधानमन्त्री ओलीले आफू आउँदो असोजको पहिलो साता राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेको बताए ।

उनले थपे, ‘मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानव अधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’

आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै उनले सत्य र मानव सेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले थपे, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’

समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै उनले आफूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुराहरूलाई आधार मानेर गालीगलौज र बदनाम गर्नेहरूको प्रवृत्ति सही नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्