३ आश्विन २०८१, बिहीबार
कोशी प्रदेस समाचार मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’बाट सुनुवार पुरस्कृत

२७ साउन, फिक्कल ।‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’बाट पत्रकार सुजता सुनुवार पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत भएका हुन्।

पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङ्हाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

विसं २०६९ मा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील हुनुभएकी सुनुवार काठमाडौँको उज्यालो रेडियो नेटवर्कमा आबद्ध छन् । फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसकेका छन् ।

फोनिज इलामले तीन वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’खडागरी पुरस्कार स्थापना गरेको थियो । पुरस्कार कोषबाट आदिवासी जनजातिका क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले बताए ।

प्रतिक्रिया दिनुहोस्