८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

२७ साउन, गण्डकी । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ ।

सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिए । उनले भने, “डढेलोबाट वन जोगाउन सामूहिक प्रयासको खाँचो छ । वन संरक्षणमा लाग्ने, डढेलो लाग्ने नदिने समूहलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्नेछौँ ।”

‘सामुदायिक वनको प्रभावकारिता, तीन तहको सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ जिल्ला महासङ्घको आयोजना एवं डिभिजन वन कार्यालय कास्की र (युएसएआडी) जलजङ्गलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहेकी जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालले रोपिएका बिरुवाको संरक्षण गर्दै प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रुख निकाल्न उपभोक्तालाई सुझाव दिँदै त्यसका लागि कार्यालयकोतर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ठूलो वन समूहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेलगायतले वन संरक्षण, प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले सहज रुपमा उपयोग गर्ने व्यवस्था हुनुपर्ने खाँचो औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्