३१ भाद्र २०८१, सोमबार
अनौठो संसार अन्तराष्ट्रिय समाचार

लत लागेको भन्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतका प्लेटफर्म विरुद्ध उजुरी

२७ साउन, काठमाडौं । क्यानडाका २४ वर्षीय युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् । सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका यी माध्यम अत्यधिक लत लगाउने किसिमको भएको आरोप लगाउँदै त्यहाँको स्थानीय अदालतमा मुद्दा दायर गरिएको हो ।

ती व्यक्तिका अनुसार यी सामाजिक सञ्जालका माध्यम अत्यधिक लत लगाउने किसिमको भएकाले रचनात्मक क्षमतामा ह्रास आएको छ । सन् २०१५ देखि निरन्तर सामाजिक सञ्जाल प्रयोग गर्दा  शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ ।

यो मुद्दा अहिले मोन्टरियल सहरमा रहेको एक ‘ल फर्म’ ल्यामबर्ट एभोक्याट्सले व्यवस्थापन गरिरहेको छ । सो मुद्दामा सामाजिक सञ्जालका माध्यम प्रयोगकर्ताको मष्तिष्कलाई डोपामिन उत्पादन गर्न प्रेरित गर्ने गरेको आरोप लगाइएको छ । डोपामिन यस्तो रसायन हो, जसले हामीलाई आनन्द र खुसीको अनुभूति गराउँछ । जे कुराले डोपामिन उत्पादन गर्न प्रेरित गर्छ, हामीलाई त्यसैको लत लाग्छ ।

सामाजिक सञ्जाल प्लेटफर्मले दैनिक कति प्रयोग गर्ने भन्ने सीमितता कायम गरिदिएको भए पनि त्यसको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारेको उनको आरोप छ । खासगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगले निन्द्रा बिग्रिएको र व्यक्तिलाई रचनात्मक क्षमतामा ह्रास ल्याएको मुद्दामा उल्लेख छ ।

उक्त मुद्दामा सामाजिक सञ्जालका प्लेटफर्मसँग क्षतिपूर्ति माग गर्नुका साथै कारबाही गर्न समेत अनुरोध गरिएको छ । प्लेटफर्मलाई प्रयोगकर्ता बढीभन्दा बढी समय त्यहाँ बिताउन् भन्ने किसिमले डिजाइन गरिएकाले उनीहरू त्यसैमा निर्भर हुँदै गएको मुद्दामा उल्लेख छ । यद्यपि यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने निश्चित छैन । किनभने यसका लागि न्यायाधीशले प्रमाणीकरण गर्नुपर्छ । न्यायाधीशले यसलाई कसरी विश्लेषण गर्छन् भन्ने विषयले नै यो मुद्दालाई पार लगाउने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय क्यानडामा सामाजिक सञ्जाल विरुद्ध मुद्दा हाल्ने प्रवृत्ति बढ्दो छ । विशेषगरी शिक्षा प्रणालीलाई नै सामाजिक सञ्जाल टिकटक, मेटा र स्न्यापच्याटले ध्वस्त बनाउँदै लगेको आरोप विद्यालयहरूबाट आउने गरेको छ । ती विद्यालयले सामाजिक सञ्जालबाट चार अर्ब ५० करोड डलर क्षतिपूर्ति माग गरेका छन् । टेकपाना

प्रतिक्रिया दिनुहोस्