१० मंसिर २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एचआईभी संक्रमितको यौन जीवन : कति सहज, कति सुरक्षित ?

२७ साउन, कञ्चनपुर । कञ्चनपुरका ३० वर्षीय किरण वली (नाम परिवर्तन) एचआईभी संक्रमित हुन् । संक्रमित भएपछि यौन जीवनमा परिवर्तन भएको उनी बताउँछन् ।

‘एचआईभी यौन सम्पर्क मार्फत सर्ने रोग हो भन्ने धारणाले गर्दा समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नै फरक छ ।  त्यसैले मलाई यो विषयमा अरूसँग कुरा गर्न नै अप्ठ्यारो महसुस हुन्छ,’ उनी भन्छन् ।

सामान्य व्यक्तिले जस्तो यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा खुलेर छलफल गर्न नपाएका कारण सङ्क्रमित व्यक्तिहरूमा यो विषयमा धेरै ज्ञान हुँदैन । एचआईभी सङ्क्रमितको सम्पूर्ण स्वास्थ्यको कुरा त हुन्छ । तर यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा भने खासै कुरा नहुने किरण बताउँछन् ।

सङ्क्रमितको यौन जीवन पनि सामान्य व्यक्तिको जस्तै हुन्छ तर औषधि सेवन र रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले यौन चाहना कम भएको हुन सक्ने उनी बताउँछन् ।

एचआईभी सङ्क्रमित पुरुष भन्दा महिलाले बढी समस्या भोग्नुपर्छ । सामान्य महिलामा भन्दा एचआईभी सङ्क्रमित महिलाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बढी समस्या हुन्छ । तर उनीहरूका लागि विशेष परीक्षण र उपचारको व्यवस्था भने छैन । यस विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने किरण बताउँछन् ।

एचआईभी ‘मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने विषाणु’ हो ।  यो एउटा अति सूक्ष्म विषाणु हो, जसले मानिसको रोगप्रतिरोधात्मक प्रणालीलाई आक्रमण गर्छ । फलस्वरूप प्रतिरक्षा प्रणाली एकदमै कमजोर हुन गई रोग तथा संक्रमण विरुद्ध लड्न अक्षम हुन्छ । कुनै व्यक्तिको शरीरमा एचआईभी प्रवेश भएको पाइएमा त्यस व्यक्तिलाई एचआईभी सङ्क्रमित भन्ने गरिन्छ ।

ंक्रमितहरुको यौन जीवनको विषयमा कुरा हुनुपर्छ

एचआईभी संक्रमण सर्ने मुख्य कारण एचआईभी सङ्क्रमितसँग असुरक्षित यौन सम्पर्क हो  । तर संक्रमित भइसकेपछि पनि त व्यक्तिको यौन जीवन हुन्छ । यस्तोमा उनीहरूले आफ्नो यौन जीवनलाई कसरी अघि बढाउने भन्ने कुराको जानकारी धेरैमा नहुने यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अनुसन्धान विज्ञ अनुप अधिकारी बताउँछन् ।

‘संक्रमितले एआरटी (एन्टी रेट्रोभाइरल थेरापी) लिने ठाउँमा काउन्सिलर (परामर्शदाता) त हुन्छन् । तर उनीहरूले संक्रमित व्यक्तिलाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा भने खासै जानकारी दिंदैनन् । ‘यौन सम्पर्क गर्दा कण्डम लगाउनु’ भन्ने जानकारी मात्र दिइन्छ ।’

यौन सम्पर्क गर्दा कण्डम लगाउनु भन्ने कुराले यौनको सबै कुरालाई समेट्दैन । कण्डम किन लगाउने ? लगाउँदा के हुन्छ ? लगाएन भने के हुन्छ ? यदि श्रीमान् श्रीमती दुवै जना संक्रमित छन् भने कण्डम किन लगाउने त भन्ने प्रश्न पनि संक्रमितको हुन्छ । यस्ता कुराको जानकारी पनि उनीहरूलाई दिनुपर्ने अधिकारी बताउँछन् ।

‘श्रीमान् श्रीमती दुवैलाई एचआईभी छ भने पनि यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नुपर्छ । किनभने एक जना पार्टनरमा भाइरस कमजोर छ भने अर्कोमा शक्तिशाली हुनसक्छ । यस्तोमा कण्डम विना यौन सम्पर्क गर्दा दुई भाइरस एकअर्कामा मिसिएर भाइरल लोड बढ्न सक्छ । यसो भयो भने अन्य संक्रमण हुने सम्भावना बढ्छ,’ उनी भन्छन् ।

सङ्क्रमित व्यक्तिमा पनि त यौन चाहना त हुन्छ । यस्तोमा यौन सन्तुष्टि पूरा गर्न के गर्ने भन्ने कुराको जानकारी पनि धेरै सङ्क्रमितलाई हुँदैन । यो विषयमा काउन्सिलिङ लिने सेन्टर पनि खासै छैन । त्यसैले एचआईभी सङ्क्रमित व्यक्तिमा यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सचेतना फैलाउनुपर्ने अधिकारी सुझाउँछन् ।

यदि दुईजना पार्टनरमध्ये एक जनामा एचआईभी छैन र अर्कोमा मात्र छ भने दुई जनाबीच असुरक्षित यौन सम्पर्क भयो भने उनीहरूबाट जन्मिने बच्चामा पनि एचआईभी हुनसक्छ । यस्तोमा यही कुराले दम्पतीबीच मनमुटाव र कलह हुन सक्छ । यस्तोमा उनीहरूले केही कुरामा ध्यान दिए, चिकित्सकको सल्लाह लिए भने स्वस्थ बच्चा जन्माउन सक्छन् भन्ने जानकारी उनीहरूलाई दिनुपर्ने अधिकारी बताउँछन् ।

एचआभी सङ्क्रमित आमाले जन्माउन सक्छिन् स्वस्थ बच्चा

एचआईभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चा जन्मिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी मेडिकल अफिसर डा. लिना देवकोटा बताउँछिन् ।

‘श्रीमान् श्रीमतीले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेका छन् भने भाइरल लोडको अवस्थाबारे जाँच लिन्छौं । एचआईभी सङ्क्रमितको शरीरमा भाइरल लोड क्लिनिकल रुपमा कम छ भने सङ्क्रमित महिलाबाट जन्मिएका बच्चाहरू स्वस्थ हुन्छन्,’ उनी भन्छिन्, ‘सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माउनका लागि नियमित रुपमा औषधि सेवन गर्नुपर्छ ।’

यदि श्रीमान् एचआईभी सङ्क्रमित छन् तर श्रीमती सङ्क्रमित छैनन् भने उनीहरूले बच्चा जन्माउने योजना बनाउँदा एचआईभी सङ्क्रमित श्रीमानले औषधि खाएर भाइरल लोड कम गराएको हुनुपर्छ । साथै, स्वस्थ श्रीमतीलाई पनि एचआईभीकै औषधि सेवन गराउनुपर्ने डा. देवकोटा बताउँछिन् ।

यस्तोमा ‘प्रि-एक्सपोजर प्रोफाइलेक्सिस’ औषधि खुवाउँछौं अर्थात् रोग लाग्नुभन्दा अगाडि एचआईभीको औषधि खुवाइन्छ । जबसम्म गर्भ बस्दैन, तबसम्म यो औषधि खुवाइन्छ । गर्भ रहेपछि औषधि खुवाउन बन्द गर्छौं । गर्भ रहेर औषधि बन्द गरेपछि श्रीमान् श्रीमतीबीच कुनै पनि सम्पर्क हुनु हुँदैन । यसरी आमा पनि सुरक्षित हुन्छिन् भने ती आमाबाट जन्मेको बच्चा पनि सुरक्षित रहन्छ । आमामा एचआईभी नेगेटिभ भएपछि बच्चामा पनि स्वतः नेगेटिभ नै हुने डा. देवकोटा बताउँछिन् ।

जन्मिदै सङ्क्रमित भएका बालबालिकालाई परामर्श जरुरी

जन्मिंदै सङ्क्रमित भएर जन्मिने बच्चालाई बुझ्ने भएपछि त्यसबारे जानकारी दिनुपर्छ । किनकि कतिपय अभिभावकले उनीहरु एचआईभी संक्रमित छन् भन्ने कुरा थाहा नै दिंदैनन् । यस्तोमा उनीहरू वयस्क भएपछि यौन क्रियाकलापमा संलग्न हुँदा समस्या सिर्जना गर्छ ।

वयस्क अवस्थामा पुगेपछि आफू संक्रमित भएको कुरा राम्रो काउन्सिलिङ विना थाहा पाए भने उनीहरुमा ‘मेरो केही दोष नभई म सङ्क्रमित भईसकें भने म पनि अरूलाई संक्रमण सारिदिन्छु’ भन्ने जस्ता बदलाको भावना उत्पन्न हुनसक्छ ।

त्यसैले एचआईभी संक्रमित बच्चासँग यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा अभिभावकले पर्याप्त छलफल गर्नुपर्ने यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे अनुसन्धान विज्ञ अनुप अधिकारी बताउँछन् ।

‘एचआईभी सङ्क्रमित बच्चासँग यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा अभिभावकले छलफल गर्नुपर्छ,’ उनी भन्छन्, ‘सङ्क्रमित बच्चा वयस्क अवस्थामा पुग्दा सङ्क्रमित हो भन्ने कुरा थाहा पाए भने त्यसपछि उनीहरूको यौन जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको जानकारी पनि दिनुपर्छ ।’

अधिकारीका अनुसार सङ्क्रमितले नियमित औषधि खाएर भाइरल लोडलाई कम गर्नुपर्छ । त्यसपछि पार्टनरसँग कण्डम प्रयोग गरेर मात्र यौन सम्पर्क गर्नुपर्छ । कण्डम प्रयोग गर्ने तरिका पनि सही हुनुपर्छ । ‘पार्टनरलाई उसको सङ्क्रमणको बारेमा थाहा हुनुपर्छ । यौन सन्तुष्टिको लागि पार्टनर नै चाहिन्छ भन्ने होइन, सेक्सटोइ (यौन खेलौना)को प्रयोग पनि गर्न सकिन्छ भन्ने जानकारी पनि उनीहरुलाई दिनुपर्छ,’ अधिकारी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्