८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् अवरुद्ध

२८ साउन, म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

अन्नपूूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२-११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युत्विहीन बनेको हो । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युत्को प्रशारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।

अन्नपूूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत् अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाईल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन् ।

मोबाईलको टावरले काम गर्न छाडेको घोडेपानीका होटल व्यवसायी वीरेन गर्बुजा पुनले बताउनुभयो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, पाउद्वार, घार, हिस्तान, राम्चेका तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी बितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले नयाँ पोल राख्न प्रस्ताव गरिएको ठाउँका जग्गाधनीको विरोधका कारण लाइन मर्मतमा ढिलाई भएको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अगुवाईमा विवाद समाधान गरी सोमबार दिउँसोदेखि पोल गाड्न र तार तान्न थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्