८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पृथ्वी राजमार्ग विस्तार : पश्चिम सडकमा पाँच पुल निर्माण

२८ साउन, तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणधीन १३ पुलमध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमी सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन् । पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ ।

उनका अनुसार गत वर्ष नौ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यस खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ । उनले भने, “गत वर्षको तुलनामा यस वर्ष निर्माण कार्यले गति लिएको छ ।”यस खण्डमा चार र छ लेनको सडक निर्माण गरिनेछ । सडकको बीच भागबाट दायाँबायाँ २५-२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ । त्यसअनुरुप दुई लेनमा २० किमी सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ ।

पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी रहेको छ । निर्माण कार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण कार्य प्रभावित हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए । उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । सडक निर्माणमा एसियाली विकास बैङ्कको ऋण सहयोग रहेको छ । यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख रकम रहेको छ ।

वर्षायामको अवधिभर कालोपत्र कार्य रोकी नाला, पर्खाल निर्माणलगायत कार्यलाई प्राथमिकता दिइएको छ । उनले भने, “विद्युत्का खम्बा र खानेपानीका पाइप हटाउन समस्या भएका कारण सडक विस्तारका कार्य प्रभावित हुने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्