अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम
२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई निर्देशन दिएको छ ।
काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ ।
सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो ।
बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।
तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।
महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो ।
‘दुई दिनसम्म जग्गा खाली गरिएन भने बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउँछ,’ महानगरका एक प्रहरी अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस्