३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पुरुष यौनाङ्गको संक्रमण कति जोखिमपूर्ण ?

२९ साउन, काठमाडौँ । पुरुषमा यौनाङ्ग पोल्ने समस्या सामान्य एलर्जीको प्रतिक्रियादेखि गम्भीर यौन प्रसारित रोगका कारण हुनसक्छ । कतिपय अवस्थामा पिसाब सङ्क्रमणका कारण पनि यौनाङ्ग पोल्न सक्छ ।

यदि कुनै गम्भीर समस्या छैन तर चिलाउने मात्र गर्छ भने त्यो भित्री बस्त्रको कारणले पनि हुनसक्छ । विशेषगरी गर्मी मौसममा लगाइरहेको भित्री बस्त्र पसिनाले भिज्ने र ओसिलो भइराख्छ । जसकारण ढुसी सङ्क्रमण भई चिलाउने, पोल्ने र छाला पाछ्ने हुन्छ ।

‘सिन्थेटिक फेब्रिक’को अण्डरवेयर लगाउनेहरुमा पनि सङ्क्रमणको जोखिम बढी हुन्छ ।

के गर्ने ?

– भित्री बस्त्र सुतीको प्रयोग गर्नुपर्छ । सुतीको कपडाले यौनाङ्मा हुने ओसिलोपन र पसिनाले भिजेमा सजिलै अवशेषित गराई घण्टौंसम्म सुक्खा राख्न सक्छ ।

– दैनिक भित्री बस्त्र परिवर्तन गर्ने ।

– राति सुत्दा भित्री बस्त्र नलाई सुत्न सकिन्छ । यसो गर्दा पोल्ने र चिलाउने समस्या भएमा केही हदसम्म राहत मिल्छ ।

एलर्जीको प्रतिक्रिया

कहिलेकाहीं मोइस्चराइजर, जेल वा साबुनको प्रयोगले पनि एलर्जी हुनसक्छ । ती उत्पादनमा हुने रासायनिक पदार्थले चिलाउने र पोल्ने हुनसक्छ ।

त्यसैले यो समस्या देखिए यी उत्पादनहरू केही दिनका लागि रोक्ने वा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

के गर्ने ?

– यदि रसायनकै प्रतिक्रिया हो भने दिनमा दुई पटक मनतातो पानीले यौनाङ्ग र त्यस वरपर राम्रोसँग पखाल्नुपर्छ ।

– त्यसपछि सुतीको कपडाले पुछेर सुतीकै भित्री बस्त्र लगाउनुपर्छ ।

सम्भोगको क्रममा यौनाङ्ग सुक्खा हुनु

भित्री बस्त्र मात्र होइन, सम्भोग गर्दा पनि यौनाङ्ग पोल्ने हुनसक्छ । तीव्र पोलेको अनुभव हुने धेरैजसो पुरुषलाई यो समस्याले सताउँछ ।

लुब्रिकेन्टको कमीका कारण यो समस्या हुनसक्छ । यसले पोल्ने मात्र नभई यौनाङ्ग दुखाइ, रातो दाग देखिन सक्छ ।

के गर्ने ?

– सम्भोग गर्दा कन्डमको प्रयोग गरिएको छैन भने सुरक्षित खालको चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ ।

– यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ ।

– तीन दिनसम्ममा पनि पोलिरहने समस्या भएमा मूत्र रोग विशेषज्ञलाई देखाउनु उचित हुन्छ ।

यौन सङ्क्रमण रोग

पुरुषको यौनाङ्ग पोल्ने एक साझा कारण यौनजन्य सङ्क्रमण पनि हो । हर्पिस, भिरिंगी, गोनोरिया र क्लामेईडिया जस्ता यौनरोगमा लक्षणको रूपमा यो समस्या देखिन्छ ।

यौनजन्य रोग नै हुनसक्छ भनेर अनुमान लगाउन लिङ्गको भाग पोल्नेसँगै रातो हुने, घाउ हुने, पिप बग्ने, सम्भोग गर्दा दुख्ने जस्ता लक्षण देखिन्छ ।

पुरुषमा यौन सङ्क्रमण हुने मुख्य कारण भनेको यौन साथी धेरै बनाउनु र सम्भोग गर्दा कण्डमको प्रयोग नगर्नु हो ।

के गर्ने ?

– यौन प्रसारित रोगको लक्षण भएको शंका लागेमा यौनरोग विशेषज्ञ वा मूत्ररोग विशेषज्ञलाई देखाउन सकिन्छ ।

– यौन प्रसारित रोगको समयमै पहिचान तथा औषधि उपचार समस्या अनुसारको सम्भव छ ।

फङ्गल सङ्क्रमण

लिङ्गमा फङ्गस (ढुसी)को वृद्धि हुँदा पनि पोल्ने, सेतो फोका आउने, बारम्बार चिलाउने जस्ता लक्षण देखिन्छ । यद्यपि, पुरुषमा यो समस्या महिलाको तुलनामा कम हुन्छ ।

तर सरसफाइमा ध्यान पुगेन, अन्डरवेयर दैनिक नफेर्ने, चिसो अन्डरवेयर लगाउने र ढुसी सङ्क्रमण भएको यौन साथीसँग असुरक्षित यौन सम्पर्क गर्दा फङ्गल सङ्क्रमण हुनसक्छ ।

के गर्ने ?

– यदि सङ्क्रमण भएको खण्डमा एन्टिफंगल औषधिको प्रयोग गरेमा बिस्तारै लक्षणसहित संक्रमण पनि नष्ट हुन्छ । तर औषधि चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ ।

– समस्या होस् वा नहोस् सधैं सरसफाइमा ध्यान दिनुका साथै सुरक्षित ढङ्गले सम्भोग गर्ने बानी बसाल्नुपर्छ ।

पिसाब सङ्क्रमण

पिसाब सङ्क्रमण भएमा लक्षण प्रष्ट देखिने हुँदा सजिलै पहिचान हुनसक्छ । पिसाब गर्दा पोल्ने, मूत्रथैली भरिएको अनुभव भइराख्ने र पटक-पटक पिसाब आउने पिसाब सङ्क्रमणका प्रमुख लक्षण हुन् ।

के गर्ने ?

– यसको उपचारमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ । चिकित्सकले अवस्था हेरेर सिफारिस गरेको औषधि खाएमा छिटो निको हुन्छ ।

एक्जिमा वा सोरियासिस

छालासम्बन्धी समस्या जस्तै एक्जिमा वा सोरियासिस भएमा पनि लिंग र त्यस वरपरको भाग सुक्खा हुन्छ । जसकारण चिलाउने, पोल्ने, छाला सुन्निने जस्ता समस्या हुन्छ ।

के गर्ने ?

– छालारोग विशेषज्ञ वा मूत्ररोग विशेषज्ञले अवस्था हेरेर केही औषधि दिन सक्छन् ।

– यो अवस्थामा तातो पानीले नुहाउनु हुँदैन । र, छालामा कनाइरहनु हुँदैन । यसले छालामा घाउ बनाई थप समस्या बढाउन सक्छ ।

मिर्गौलामा पत्थरी

मिर्गौलाको पत्थरी भनेको पिसाब नलीको जुनसुकै भागमा पनि बन्न सक्ने खनिज र लवणले बनेको सानो ढिक्का वा समूह भनेर बुझिन्छ ।

यसको कारक भनेको तरल पदार्थ कम खानु र पटक-पटक पिसाब सङ्क्रमण हुनु, पिसाबमा साइट्रेट कम हुनु, आन्द्राको समस्या, एचआईभीको एन्टिभाइरल औषधि र छारेरोगसम्बन्धी औषधि सेवन, युरिक एसिडको मात्रा बढेमा र केहीमा पानी कम खाँदा पनि पत्थरी हुनसक्छ ।

जसकारण मूत्रनलीबाट पिसाब निस्कने क्रममा अत्यधिक पोल्ने गर्छ । साथै, तल्लो ढाड दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ ।

के गर्ने ?

– पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार उपचार गर्ने विभिन्न तरिका छन् । साना पत्थरीको उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ ।

– पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसकारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।

– धेरै ठूला मिर्गौलाको पत्थरी भएमा हटाउन शल्यक्रिया वा लेजर उपचार सल्लाह दिन सक्छन् ।

प्रोस्टेट ग्रन्थीमा समस्या

प्रोस्टेट ग्रन्थीमा समस्या भएमा पनि लिङ्गमा तीव्र रुपमा पोलेको अनुभव हुनसक्छ । यसको आकार उमेरसँगै बढ्दै जान्छ । जब प्रोस्टेट ग्रन्थीमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थीको आकार तथा तौल बढ्दै जान्छ ।

प्रोस्टेट ग्रन्थीको आवरण अर्थात् खोल त्यति लचकदार हुँदैन । प्रोस्टेट ग्रन्थीको लचकता सीमित हुने भएकाले यो ग्रन्थी वृद्धि हुँदा मूत्रनली थिचिन थाल्ने हुनाले पिसाबले सहज बाटो पाउँदैन ।

ग्रन्थी जति जति बढ्यो, मूत्रनली साँघुरिने र लम्बिने हुन्छ । जसको लक्षणको रूपमा पिसाब पोल्ने, दुखाइ, पिसाबमा रगत देखिने र ढिलो पिसाब आउने हुन्छ ।

के गर्ने ?

– चिकित्सकको सल्लाहमा लक्षणअनुसार उपचार, औषधिको प्रयोग, अल्फा ब्लकर लगायत प्रोस्टेट ग्रन्थीलाई सुकाउने अन्य औषधिको प्रयोग निकै प्रभावकारी हुनसक्छ ।

– लामो समय भइसकेको र औषधिले प्रभावकारी तवरमा काम गर्न छाडेमा वा पोस्टेट ग्रन्थीको आकार अत्यन्त ठूलो भएमा शल्यक्रिया आवश्यक हुन्छ ।

– शल्यक्रिया अहिले दूरबीन र लेजर प्रविधिको माध्यमबाट पनि सम्भव छ । जसले गर्दा जटिलता कम मात्रै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्