४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

राजधानी जान न प्लेन, न बस

२९ साउन, धनगढी  । सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ । लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ । जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा सुचारु छैन ।  करिब १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको पाटन विमानस्थल पनि २०७८ चैत ११ गतेदेखि बन्द छ । विमानस्थलको धावनमार्ग र टर्मिनल भवन आकर्षक छ तर यहाँबाट न हवाई उडान सञ्चालनमा छ, न त काठमाडौँ जाने बस नै पाइन्छ ।

बैतडीबाट सिधै काठमाडौँ जाने यात्रु नभएका कारण बस सेवा बन्द गरिएको महाकाली यातायात काउन्टरका दानसिंह थापाले बताए । त्यस्तै पाटनमा रहेको विमानस्थल कालोपत्रेपछि २०७७ साल असोजमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए। उद्घाटनपछि एक दिन विमान उडे पनि त्यसपछि भने सुनसान बनेको छ । स्थानीय वसन्त विष्टले हवाई सेवा बन्द हुँदा आकस्मिक उद्धार तथा हवाई सेवाबाट जिल्लावासी वञ्चित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्