३१ भाद्र २०८१, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

सेनाद्वारा मधेस प्रदेशमा वृक्षरोपण अभियान सञ्चालन

२९ साउन, महोत्तरी । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यसवर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ । मधेश प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवर्द्धन सुरु गरिएको वृहत वृक्षरोपण अभियानमा पछिल्लो असार र साउनमा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबास महोत्तरीले जनाएको छ ।

सेनाले साउनको चौथो साताभित्र महोत्तरी र धनुषाको सीमाक्षेत्रमा पर्ने धनुषाको मिथिला–११ को मोतीखोला सामुदायिक वनक्षेत्र र बगरटोलमा गरी सात बिघा क्षेत्रफलमा १० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको जनाएको छ । यहाँ गत बिहीबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहबाट वृक्षरोपण थालिएको थियो । यसअघि असारमा सिरहाको मिर्चैया–६, ७ को पर्ति जग्गामा ५० हजारको सङ्ख्यामा वृक्षरोपण रोपिएको पृतनाका सहायक रथी प्रकाशबहादुर चन्दले जानकारी दिए । वृक्षरोपण गरिएका दुवै ठाउँ चुरे क्षेत्र हुन् ।

चुरे मधेशको जीवन रहेको हुँदा यसको संरक्षणका लागि सघन वृक्षरोपण पहिलो अभिभारा रहेको सेनाको ठम्याइ छ । चुरेका प्राकृतिक स्रोत जमिन, पानी, चरनक्षेत्र र प्राणीको संरक्षण, जीविकाका लागि रुख बिरुवा अनिवार्य भएको सहायक रथि चन्दको भनाइ छ । रोपिएका बिरुवाहरुमा मलेसियन साल, टीक, खयर, अमला र बाँस छन् ।

वृक्षरोपणले अब वनक्षेत्र हराभरा बनाउन सहयोग पुग्ने मोतीखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माको विश्वास छ । वनक्षेत्र नजिकको पर्ती जग्गामा अमला रोपिएको छ । यसले बस्ती पसेर हैरान गर्ने बाँदरले केही वर्षभित्रै जङ्गलमै पर्याप्त भोजन पाउने आशा गरिएको छ । भिरालो जग्गामा रोपिएको बाँस झ्याङ्गिदै गएपछि पाखाको माटो बग्ने र पहिरो जाने क्रम पातलिने स्थानीय बताउँछन् ।

यो अभियान मधेशका आठै जिल्लामा सञ्चालन गरिने सहायक रथी चन्दको भनाइ छ । रोपिएका बिरुवाको संरक्षणका लागि काँडेतारको घेराबेरा र नियमित देखभाल गरिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्