९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार साहित्य/ समाचार

लारः कथा भित्रका कथाहरु (समीक्षा) 

वास्तविक घटनाहरुमा आधारित एवम् प्रेरित, मनोवैज्ञानिक कथा लेख्ने सर्जक मुना चौधरीद्वारा लिखित ‘लार’ कथासङ्ग्रह समाजको ऐनाको रुपमा देखिएको छ । ‘लार’ कथा सङ्ग्रहमा त्यस्ता कथाहरु कथिएको छ जुन हाम्रो समाजमा उहिलेदेखि अहिलेसम्म चलिआएका कथ्यहरु छन् । गाउँ समाजमा देखिने र सुनिने परिदृश्यलाई कथाको प्रसङ्गले सत्यलाई उजागर गर्दा व्यक्ति एवं समाज समयसँग हिँड्नुपर्ने पाठ सिकाउँछ । यदि त्यसो गर्न सकिएन भने समयले स्वम् पाठ सिकाउँछ भन्ने तर्कलाई मजबुत तरिकाले कथाहरूमा प्रस्तुत गरिएको देखिन्छ ।

सङ्ग्रहमा २६ ओटा कथाहरु सङ्ग्रहित छन्, उनका कथाका मूल पात्रहरु जनानी अर्थात् नारीहरु छन्, जसले कुरा सबैको सुन्छन्, बुझ्छन् तर निर्णय आफ्नो हृदयले लिन्छन् । अनि, कथाहरुको मूल विषय नारी शसक्तिकरणबारे छन् । परेको वेलामा उनीहरू जुनसुकै परिस्थितिसँग जुधेर विजय प्राप्त गर्छन् भन्ने कुरालाई समेत देखाइएको छ । सममजमा रहेका परम्परागत सामाजिक संरचनालाई भत्काउँदै कथाका पात्रहरूले अधुनिक समाज निर्माण गरेका छन् ।

तराईको परिवेशलाई आधार बनाएर लेखिएको यस सङ्ग्रहका कथाहरूमा तराईको रहनसहन, परम्परा, संस्कृति, चाडपर्व र भाषालाई जीवन्तता दिने काम गरिएको छ । अहिले घटिरहेका यथार्थ घटनाहरूलाई टपक्क टिपेर कथाकारले जस्ताको त्यस्तै राखेको देखिन्छ । यो कथाकारको प्रशंसनीय पक्ष हो ।

लार कथासङ्ग्रहका कथाहरु पाठकहरू मनको गहिराईमा डुबेर पढछन्, मनमनै मिलनको सपना देख्छन् तर बाहिर देखाउँदैनन् । त्यसैले कथाकारलाई मनको कथा लेख्ने सर्जक भनेको हुँ । लार कथा सङ्ग्रहले उजागर गरेको विवाह, सम्बन्ध विच्छेद, ३० वर्ष कटेपछि नारीहरूमा मातृवात्सल्यको अनुभव हुने, आमा बन्न पाए खुसी अनुभव हुने कुरालाई समेत देखाइएको छ । एउटा प्रसङ्ग यहाँ उल्लेखनीय देखियो, हजुरबुवा–हजुरआमा, बुबा, आमाहरु वा घरका बृद्ध सदस्यहरुले आफ्ना नातिनातिनाहरुको छिटै बिहे होस् भन्ने चाहना राख्छन् । भन्नलाई त उनीहरु नातिनातिनीहरुको बिहे भएको हेर्न चाहेको बताउँछन्, यथार्थमा उनीहरुको नातिनातिहरुले गृहस्थ जीवनमा प्रवेश गरून् भन्ने चाहन्छन् ।

गृहस्थ जीवनका सम्पूर्ण सुख प्राप्त गरून् भन्ने चाहन्छन् तर त्यही समाजमा बा वा आमा मध्ये कोही बिते भने एकल बाआमाका लागि गृहस्थी जीवनबारे नातिनातिनाले सोच्न सक्दैनन् । बृद्ध भएपछि ईश्वर आराधना र पूजापाठमा लाग्नुपर्छ भन्ने सोच्छन् तर कथाका पात्र बुहारीहरूले एकल जीवन बिताइरहेका ससुराको बिहे गराइदिन्छन् । जन्ती पनि बुहारीहरू मात्र जान्छन् । नयाँ सामाजिक संरचना कथाकारले निर्माण गरेको देखिन्छ । जुन प्रशंसनीय छ ।अहिलेको समाजको अति वास्तविक तत्व पनि हो । अर्को महत्वपूर्ण कुरा, कथाहरुमा गरिएको एक प्रयोगले समावेशीतालाई महत्वपूर्ण टेवा पुगेको छ ।

कथाहरु सिरहा–सप्तरी–उदयपुर जिल्लाको थारु समुदायको परिवेशमा लेखिएको पाइन्छ । जहाँ प्रत्यक्ष संवादहरु थारु भाषामा छ । त्यसको अर्थ बुझाउन नेपाली भाषामा कोड गरिएको छ साथै संवादमा भनिएको कुरा लगत्तैको प्रसंगमा प्रष्ट पारिएको छ । यो प्रयोग गज्जब देखिन्छ । यसले नेपाली भाषा इत्तरको भाषा बुझ्न–बुझाउन सहज भएको छ र कथाको प्रसंगहरु रङ्गीचङ्गी फूलबारी जस्तै देखिएको छ, हाम्रो राष्ट्रिय गानको पहिलो मोहडामा व्याकुल माइलाले ‘सयौं थुङ्गा फूलका हामी एउटै नेपाली’ भने जस्तै। यस्तो प्रयोग अरु भाषामा पनि बढ्न थालेको देखिन्छ जुन कि असाध्यै राम्रो हो ।

यस कथासङ्ग्रहका कथाहरुले वास्तविक जीवनका व्यवहारिक कुराहरुसँग सम्बन्ध राख्दछ, जुन वैज्ञानिकतामा पनि आधारित देखिन्छ । पुरूषहरू विवाह अगाडि प्रेमीकाहरूको सम्बन्धमा रहेको खुलेरै बताउछन् तर महिलाहरू लजाउछन् । विवाह अगाडि आफ्ना प्रेमीहरू रहेको बताउँदैनन् तर कथाभित्र रहेकी महिला पात्रले बिहे अगाडि आफ्नो ७ जना प्रेमीहरू रहेका र उनीहरूलाई आफूले मन पराएको खुलेरै बताएकी छिन् । आफ्नो प्रेम सम्बन्धबारे अहिले पनि महिलाहरू बोल्न लजाउँछन् ।आफ्नो अतीतको रहस्य खोल्न दरो मुटु चाहिन्छ । किनकि महिलाको धेरै प्रेमी भए उनलाई चरित्रहीन दृष्टले समाजले हेर्ने गर्छन् तर, चौधरीका कथाहरूले यस्तो सोचलाई परिवर्तन गरिदिएको छ । चरित्र महिला जसरी पुरूषका पनि बराबर हुन् भन्ने कुरा चौधरीका कथाहरूले उजागर गरिदिएको छ, जुन कि व्यवहारिक कुरा हो ।

हाम्रो जीवनमा मेल खाएको छ । पात्रहरू सही निर्णय लिन सक्षम देखिन्छन् । त्यति मात्र होइन तराईमा रहेको दहेज प्रथालाई खुलेरै विरोध गरिएको देखिन्छ । छोरीहरू आफ्नो खुट्टामा उभिन तम्सेका छन् । हुन त थारू समुदायमा दहेज प्रथा छैन । बिहेमा बाआमाले आफ्नो इच्छाले दहेजस्वरूप छोरी ज्वाइँलाई दिएको फर्निचर, अन्न, सुन, चाँदीहरू छोरीको सम्बन्ध विच्छेद हुँदा दाइजोमा ल्याएको सबै सामान लिएर छोरी माइती फर्किन्छिन् । जुन प्रशंसनीय छ ।

थारू समुदायमा विवाहपछि एकअर्काको कान्छी अौँला अलिकति चिरेर रगत निकाली वरले वधुको र वधुले वरको रगत साटासाट गरेर खाने चलन छ । जसलाई लहछुह भनिन्छ । यो संस्कृति देखाउन कथाकार पछि परेको देखिँदैन। आफ्नो संस्कृतिलाई कथाकारले सम्मान गरेको देखिन्छ । लार कथा सङ्ग्रहका कथाहरुको विषय, संरचना एवं समापन बारेमा सर्जक, समीक्षकहरुको आ–आफ्नो अनुभव, बुझाइ, सुझाव होलान् त्यो आफ्नो ठाउँमा छ । तर कथाहरुले जुन कुराहरु उठान गरेको छ त्यो अतुलनीय छ । वास्तविक जीवनका सत्य घटना, प्रसङ्गहरुलाई विषय बनाएर कथा पहिले पनि लेखिन्थ्यो, पछि पनि लेखिनेछ तर जुन ठाउँबाट, जुन ठाउँको कुरा लेखिएको छ त्यो यस अघि चाँहि थिएन । त्यसका लागि कथाकार चौधरीज्यूलाई साधुवाद ।

व्यवहारिक जीवनका कसैले वास्ता नगरेका, लेख्ने चेष्टा नगरेका विषयमा कथाकारद्वारा जसरी वर्णन गरिएको छ त्यो अनुकरणीय छ । चाहे ललिपप ठाकुर होस् वा थलैन, भकवा होस् वा समध चाहे होस् होली वा लार कथा । त्यस्तै बिलैया, बुलकीबाली, भिन, छुट्टापतर, गर्भवती, लहछुह लगायतका कथाहरु अत्यन्त नवीन प्रयोग र विषयवस्तुका कथाहरु हुन् । रोजगारी, बाँसघारी, च्याट, तिम्रो लोग्ने र म, बतहैनी, रिक्साबाली, महामारी लगायतका कथाहरु फरक–फरक दृष्टिबाट दर्दनाक छन्, जिन्दगीभरि बिर्सिन गाह्रो हुने खालका उनका कथाहरू छन् ।

पाठकको मन, मस्तिस्कमा गहिरो छाप छोड्न सफल देखिन्छ । पढेपछि मथिङ्गल हल्लिने सबै कथाहरु एकसे एक छन् । कथाहरुले प्रेम र यौन विषयलाई चाहि छोडेका छैनन् । कथाकार नारी भएकोले नारीको मनोभाव राम्रोसँग वर्णन गरेको देखिन्छ । नारीको पिडा, अनुभव, मनोभाव सहज तरिकाले चिरफार गर्दै प्रस्तुत गरेको देखिन्छ । थलैन, राइर, कुमाइर, गर्भवती, व्रत कथाहरुमा प्रेम, यौन, आधुनिक विज्ञान प्रविधि, सामाजिक चलन, पितृसत्ता, मानव सेवा, नारी शक्ति लगायतका विषयलाई समेटिएको छ । साङग्रिला मिडिया ग्रुप प्रा.लि. काठमाडौंले २०८० साउनमा पहिलो पटक प्रकाशन गरेको २९४ पृष्ठको कथासङ्ग्रह आम पाठक, प्रकाशक, समीक्षक, उत्प्रेरकहरुका लागि एक महत्वपूर्ण खुराक बनेको छ ।

चौधरी नेपाली साहित्य क्षेत्रमा एक उज्ज्वल नक्षत्रको रुपमा देखिएकी छिन् । उनका सृजनाहरुलाई आम पाठक, प्रकाशक, समीक्षक, उत्प्रेरकहरुले ‘एक्सपोजर’ दिनु नेपाली साहित्यको लागि सुनौलो दिनको रुपमा वाञ्छनीय रहनेछ । उनका कथाहरुमा बलिया बिम्वहरुको प्रयोग गरेको पाइन्छ । लोग्ने कथामा प्रयोग गरिएको एक बिम्व– सन्ध्यालाई चिर्ने तागत अस्ताउँदै गरेको सूर्यमा हुँदैन, किनकि सन्ध्यालाई पूर्णरुपमा जुनले ताराहरुका लागि रात लिलामी गरिसकेको हुन्छ ।

यस्ता बिम्बहरूले कथाहरूमा रसात्मकता थपिएको छ । उनी निरन्तर लेखन कार्यमा सक्रिय छिन्। सिरहा जिल्लाको लहान, भोटियाटोल गाउँमा जन्मेकी चौधरी कथा बाहेक, कविता र उपन्यास पनि लेख्छिन् । उनका जयवर्धन सलहेस र दुलारी गरी दुईओटा उपन्यास प्रकाशित छन् । लार कथासङ्ग्रह उनको तेस्रो कृति हो ।

प्रतिक्रिया दिनुहोस्