४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

पूर्वी नेपालमा वर्षा, दूधकोसी र अरुणमा बाढीको सम्भावना

३१ श्रावण, काठमाडौं । पूर्वी नेपालका विभिन्न स्थानमा गएराति वर्षा भएको छ । खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने दूधकोसी नदी र यसका सहायक नदीहरूमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सङ्खुुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदीहरूमा तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ ।

त्यसैले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्