३१ भाद्र २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार स्वास्थ्य

मंकिपसको संक्रमण फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

३१ श्रावण,  काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिका महादेशमा मंकिपस भाइरसको संक्रमण अकासिएपछि त्यसप्रति सतर्कता बढाउन डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेको हो । उसले दुई वर्षअघि सन् २०२२ मा यही रोगको  फैलावटका कारण स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

मंकिपसले अफ्रिकामा संकट निम्त्याउन थालेपछि बुधबार डब्लुएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियामक आपतकालीन कमिटीको बैठक आह्वान गरिएको थियो । त्यसका सदस्यहरूको सुझावका आधारमा डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम ग्रेबेयससले अफ्रिका र यसबाहिरका क्षेत्रमा यो रोग फैलने सम्भावना अत्यन्तै चिन्ताजनक रहेको बताए ।

‘यो प्रकोप रोक्न र मानिसहरूको जीवन बचाउन अन्तर्राष्ट्रिय तदारुकता अत्यावश्यक छ,’ उनले भने ।

अतिसंक्रामक मानिने यो रोगको सबैभन्दा बढी संक्रमण कंगोमा देखिएको छ । त्यहाँ १३ हजार ७०० मानिसमा यसको संक्रमण देखिएकोमा हालसम्म कम्तीमा ४५० मानिसको मृत्यु भइसकेको बिबिसीले जनाएको छ ।

यो रोग अहिले कंगोका अतिरिक्त मध्य र पूर्वी अफ्रिका वरपर फैलिरहेकाे छ ।

बिबिसीका अनुसार मंकिपसको नयाँ भेरियन्ट देखापरेसँगै वैज्ञानिकहरू यसको फैलावट र मृत्यु दरमाथिको अनुसन्धानमा जुटेका छन् ।

कसरी सर्छ मंकिपस?

मंकिपस अफ्रिकामा देखापरेको अति संक्रामक रोग हो । यसका मुख्य दुई प्रकार छन्, क्लेड १ र क्लेड २ । यसअघि  क्लेड २ का कारणा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो ।

यो संक्रमितसँग नजिकै रहेर गरिने कुराकानी, खुला सम्पर्क, शारीरिक सम्बन्धलगायत कारणले एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ ।

फ्लुमा जस्तो यसमा पनि छालामा घाउ, खटिरा आउने हुन्छ । डब्लुएचओका अनुसार यसबाट संक्रमित १०० मा चार जनाको मृत्यु हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्