४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्वतमा एक सय २२ पूर्वाधार योजना सम्पन्न

३१ साउन, पर्वत । जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् ।

पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०-८१ मा ती योजना सम्पन्न भएका हुन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट एक सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा एक सय २२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा गण्डकी प्रदेश मातहतका एक सय ३३ योजना र सङ्घीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ छवटा ठूला आयोजना सम्पन्न भएका तथा सातवटा मर्मत गरिएका हुन् ।

उक्त कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवाद कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् । ती योजनाको रकम पनि फ्रिज भएको छ ।

गत आवमा डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकीभञ्याङ–पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ । यसैगरी सेराबेँसी–मोहरिया–भुकताङ्, फलेवास नगरपालिका–३ स्थित नुवार–सहिदचोक–चुुचुनदेउराली सडक पाँच सय ६० मिटर र वाँझावारी–राम्चे–चौतारा– शङ्करपोखरी सडक पाँच सय ६० मिटर, मख–ठूलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाइरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ । पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्