३१ भाद्र २०८१, सोमबार
पर्यटन मुख्‍य समाचार

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

३१ साउन, सिन्धुपाल्चोक । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीयस्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् ।

पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताए । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उनले जानकारी दिए ।

आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताए । यहाँ पर्यटकीय सम्भावना रहेको भन्दै स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उनको भनाइ छ ।

भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधिसमेत सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताए ।

काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताए । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले यहाँ रिसोर्ट सञ्चालन गरेका भन्दै थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्