३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

वर्षायाममा किन धेरै आँखा पाक्छ, कसरी जोगिने ?

३१ साउन, काठमाडौँ । वर्षायामको समयमा सबैभन्दा बढी सताउने समस्यामध्ये एक हो आँखा पाक्ने रोग । आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । हालै पनि ओपीडीमा दुई-चार जना दैनिक आँखा पाक्ने समस्या लिएर आउन थालेका छन् ।

लगातार परिरहेको वर्षाको प्रभावका कारण अबको एक महिनासम्म यो समस्या लिएर आउनेको संख्या अस्पतालमा बढ्न सक्छ । आँखा पाक्ने समस्या सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को हुँदै समुदाय स्तरमै तीव्र रूपमा फैलिन सक्ने यसमा खुबी हुन्छ । त्यसैले यो समयमा आँखासम्बन्धी स्वास्थ्यलाई लिएर सचेत हुनुपर्ने देखिन्छ ।

के हो आँखा पाक्ने रोग ?

आँखा पाक्ने रोग एडिनो भाइरसको संक्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई संक्रमित गर्छ । यो समस्यालाई चिकित्सा भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ ।

के हो आँखा पाक्ने रोग ?

आँखा पाक्ने रोग एडिनो भाइरसको संक्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई संक्रमित गर्छ । यो समस्यालाई चिकित्सा भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ ।

लक्षण

आँखा पोल्नु, चिलाउनु, भारी हुनु, आँखाले हेर्न अप्ठ्यारो भई घाममा हिंड्नु, उज्यालोमा हेर्न गाह्रो हुनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपरको भाग सुन्निनु र रातो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् ।

यी लक्षण देखिएको तीन दिनसम्म पनि बेवास्ता गरिएमा आँसु तथा कचेरा आउने र बिहान उठ्दा आँखाको परेला टाँसिएको जस्तो हुनसक्छ ।

जटिलता

आँखा पाक्ने रोग अति खतरनाक रोग होइन । यो सही उपचार पछि ठीक हुन्छ । तर उपचार नगरी बसेमा यसले थप जटिलता ल्याई अवस्था गम्भीर बनाउन सक्छ । जस्तो कि संक्रमण नरोकिएको खण्डमा आँखामा घाउ भई अल्सरको रूप लिन्छ ।

अल्सर बढ्दै गएमा उपचार गराएर निको भए पनि घाउको दाग बस्छ,  जसलाई फुलो परेको भनेर बुझिन्छ । फुलो परेपछि आँखाको दृष्टि कमजोर हुन्छ । किनकि यो समस्या भएपछि आँखामा पर्याप्त प्रकाश जान सक्दैन ।

त्यसैले सामान्य र सही उपचारले छिट्टै निको हुने समस्यालाई पालेर राख्नु भन्दा समयमै पहिचान तथा उपचार गराउनु आवश्यक छ ।

पहिचान तथा उपचार

यसको पहिचान लक्षणको आधारमा पनि ठम्याउन सकिन्छ । तर सही रूपमा पहिल्याउन आँखामा स्राव भएको तरल पदार्थको नमुना लिइन्छ । सो नमुनाले कुन ब्याक्टेरिया वा भाइरसले संक्रमण गरेको पत्ता लाग्छ ।

सोही अनुसार एन्टीफंगल वा एन्टीबायोटिक औषधि उपचार हुन्छ । सो औषधि आँखा लगाउने र हाल्ने दुवै हुन्छ । चिकित्सकले सिफारिस गरेको सो औषधि कति मात्रा प्रयोग गर्ने भन्ने तय आँखाको समस्या कति गम्भीर छ त्यसमा भर पर्छ ।

जथाभावी औषधि नलागौं

यो रोग लागेमा अस्पताल जानुको साटो हचुवाको भरमा जथाभावी फार्मेसीबाट किनेर औषधि खान वा लगाउन हुँदैन । यसले चाँडै निको पार्नुको साटो थप जटिलता ल्याउन सक्छ । त्यस्तै परिवारमा एक जनालाई भएपछि अर्को व्यक्तिलाई पनि सर्न सक्छ ।

यस्तोमा एउटै औषधि सबैले प्रयोग गरेको पाइन्छ, जुन गलत हो । औषधि हाल्दा वा औषधि हातले समाएर आँखामा लैजाँदा त्यहींबाट पनि संक्रमण सर्न सक्छ ।

कसरी बच्ने ?

– बिरामीको आँसु, चिप्रा र कचेराबाट जोगिनु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनुपर्छ ।

– आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाल लगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ ।

– संक्रमितको वरपर बस्नेहरू पनि उत्तिकै सजग हुनुपर्छ । विशेषगरी संक्रमित बालबालिका तथा वृद्धवृद्धाको ख्याल राख्ने मानिसले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ । उनीहरूले पनि कुनै वस्तु छोएमा हातमा सेनिटाइजर प्रयोग गर्नुपर्छ ।

– यो मौसममा सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन् ।

– चाहे मौसम जुनसुकै होस्, बिहान, दिउँसो र सुत्नुअघि सफा पानीले आँखा पखाल्नुपर्छ ।

– आँखा धेरै रातो भएकाले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिन कालो चस्मा लगाएर हिंड्नु आवश्यक छ ।

– संक्रमितसँग सकेसम्म सँगै नसुत्ने र भीडभाड हुने ठाउँहरूमा जानु हुँदैन ।

– आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्