४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सोलुको थामेमा बाढीले एकजना बेपत्ता, २० वटा घरमा पूर्ण क्षति, १ सय ४० जना विस्थापित

१भाद्र, काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन निर्देशन दिनुभएको छ । हिजो राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरु केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्याङ्ग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाण्डौबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्