४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

प्रहरी बिटभित्रै १६ वर्षीय बालिकाको बलात्कार

१ भाद्र, काठमाडौँ । प्रहरी बिटभित्रै १६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो ।

हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ । कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरिरहेकी बालिकालाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि छ ।

घटना गत २९ असारको हो । सुरुमा दुईजना प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर बालिका र अर्का युवकलाई घर जान भनेर सम्झाएका थिए । त्यसको केही समयपछि हवल्दार श्रेष्ठ एक्लै सो स्थानमा पुगेका थिए । त्यहाँबाट उनले दुवैजनालाई पक्राउ गरी बिटमा लगे । युवकलाई छाडेर बालिकालाई बिटभित्रै रहेको कोठामा राखी बलात्कार गरेको भन्दै मुद्दा दायर भएको हो ।

हवल्दार श्रेष्ठले आरोप अस्वीकार गरेका थिए । तर, पोलिग्राफ परीक्षणमा उनले झुटो बोलेको भनेर प्रतिवेदन आएको छ । गत २५ साउनमा जिल्ला अदालत, भक्तपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलले हवल्दार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका छन् ।

पीडित बालिकाले घटनाको भोलिपल्ट आफू पढ्ने विद्यालयका शिक्षकलाई त्यसबारे बताएकी थिइन् । त्यसपछि शिक्षककै पहलमा भोलिपल्ट प्रहरीमा उजुरी परेको हो । अनुसन्धानका क्रममा घटना साँचो देखिएपछि ३० असारमै उनलाई पक्राउ गरी मुद्दा दायर भएको हो ।

पीडितका अनुसार बलात्कारपछि बिहान ३ बजे ती बालिकालाई उनले सय रुपैयाँ दिएर घर पठाएका थिए । बिटमा रहेको बेडको तन्नासमेत उनले प्रमाण नष्ट गर्ने उद्देश्यले भोलिपल्ट बिहानै धोएको समेत अभियोगपत्रमा उल्लेख छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्