९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार समाज साहित्य/ समाचार

प्रेमको लय भाग पाँच (कथा)

र्‍याकमा भएका हुक्काहरु काचिम्बो मान्चा, समादो, सोलितेरासाउ, क्यानल र लेतो लहरै राखिएका छन् । ती हुक्काहरुले उनलाई जिस्काइरहेको अनुभव हुन्छ । उनले त्यहाँबाट तुरुन्तै आँखा हटाउछन् ।

उनले अंशलाई सोध्छन्, तनावमा छु भन्दैथिस् केटो । के भयो ?

केही होइन दाइ । यतिकै भनेँ । अंशले भने

यतिकै त पक्कै होइन होला । आत्मअत्या गर्छु भन्दै थिस् । उनले सोधे ।

केही भएको छैन बुढा, छोड्नुस् यस्ता कुराहरु । अंशले जवाफ फर्काए ।

अपरिपक्क केटा हुन् उनी । नबोल्नुपर्ने थियो तर, उनको मुखबाट कुरा फुत्केछ । यो पक्कै उनको पारिवारिक मामिला होला । आवेग नियन्त्रण गर्न नसकेरमा मुखबाट फुत्केछ तर, अब उनी लुकाउन खोज्दैछन् । प्रेमराजलाई भन्न मानेका छैनन् । प्रेमराज पनि उनको इच्छाविरुद्ध केही सोध्दैनन् ।

प्रेमराजले फेरि थपे, कसको घाँटी रेट्छु भन्दै थिस् त बाइ ।

ह्या ! दाइ छोड्नुस यस्ता कुराहरु । अंशले भने

यति भनेपछि प्रेमराज उनलाई कुनै जोरजवरजस्ती गरेनन । यदि कसैले आफ्नो व्यक्तिगत कुराहरु साझा गर्न चाहँदैनन् भने उनको नितान्त निजी मामिला हो । उनले फेरि अंशलाई केही सोधेनन् । पाकिस्तानीको घाँटी रेट्छु भन्दै थिए अंशले । अर्सलन पाकिस्तानी केटो हो । अर्सलन त्यही रेस्टुरेन्टमा वेटरको काम गर्ने केटो हो । अर्सलन र अंश दुबैजना सँगै काम गर्छन् । मिल्छन् पनि । त्यस्तो मिल्ने साथीप्रति आक्रोश किन पलायो होला ?

प्रेमराज एक्सप्रेसो कफी पिउँदै छन् । एक कप अघि पिइसके । अर्काे कप फेरि थपेर पिउँदै छन् । उनको मुटु वेलावेला ढुकढुक हुन्छ । उनी मुटु छाम्छन् । फेरि उनलाई छोरीको याद आउँछ । उनी मनमनै सोच्छन्, छोरी स्कुलबाट फर्केर खाजा खाइन् कि खाइनन् ? एक्लै के गरेर बसिरहेकी होली ? बच्चा त हो । खेल्न मन लाग्दो हो । खेल्ने साथी नभएर टोलाएर बसिरहेकी होली । पार्क खेल्न जा भनेर अनुमति पनि दिएको छैन । घर अगाडिको ट्राफिक छलेर पार्क पुग्नपर्छ । गाडीहरुको भयले उनले छोरीलाई एक्लै खेल्न पार्क जान आदेश दिएका छैनन् ।

खेल्न नपठाएर छोरीको बाल्यकाल कतै उनले खोसिरहेका छैनन् सोचेर नमिठो लाग्यो उनलाई । विदाको दिन खेल्न लग्छु भनेर उनी मनमनै सान्त्वना लिन्छन् ।

उनले सोध्न बन्द गरेपछि अंशले एक कप कफी लिएर उनको अगाडि बसे ।

भने, सुन्नसु दाइ म तपाईलाई एउटा कार र बसको कथा भन्छु । अंशले कफीको चुस्की लिए । प्रेमराजको छेउमा बसेर उनी बोल्न थाले,

पाकिस्तानबाट आएको एउटा निलो बस थियो । नेपालबाट आएको सेतो बस थियो । सोतो बसको विहे नेपाली कारसित भएको थियो ।

एक हप्ता अगाडि निलो पाकिस्तानी बसले सेतो नेपाली बसलाई सोध्यो, नेपाली कारहरु छन् भने मलाई भेटाइदे ।

नेपाली कारहरुको बारेमा त्यस्तो कुरा गरिस् भने ठिक हुने छैन भनेर सेतो बसले धम्कायो । धम्की सुनेर निलो बस चुप लाग्यो ।

दुई दिन अगाडि फेरि निलो बसले सेतो बसलाई सोध्यो, तैँले चिनेको नेपाली कार छैन ?

किन ? सेतो बसले सोध्यो

म लिभ इन मा बस्न चाहन्छु । भन्यो निलो बसले

उसको कुरा सुनेर सेतो बसको इन्जिन तात्यो । नेपाली कारहरुलाई तैँले के ठानिस् हँ ? मसँग यस्तो कुरा नगर् अबदेखि । नत्र ठिक हुने छैन । भनेर फेरि धम्कायो सेतो बसले ।

उसको कुरा सुनेर निलो बसले भन्न थाल्यो,

मेरो कुरा सुन, म बसेको छु पहिला नेपाली कारसँग । २ वर्ष लिभ इनमा बसेको छु । त्योभन्दा अगाडि ग्रीसमा हुँदा एकजना फिलिपिना कारसँग ४ वर्ष बसेको छु लिभ इनमा । फिलिपिना धेरै राम्री थिई । कहिले बेइमानी गरिन । कहिले रुखो र उच्च स्वरमा बोलिन । सारै इमानदार थिई । मिठो बोल्थी ।

मौसम चिसो भएपछि फिलिपिना तातो भइदिन्थी । थाकेका पाङ्ग्रा लिएर म कामबाट घर फर्किँदा उसले मन्द मुस्कानले मेरो थकित अनुहारमा चुमिदिन्थी । मन पुलकित हुन्थ्यो । थकाइ बिर्साइदिन्थी । कुनै कुनै कामबाट म असफल हुँदा सही निर्णय लिन सघाउथी । प्रेमको वर्षात गर्थी । म आहलादित थिए उसको साथले । म उसलाई कुनै पनि अवस्थामा छोड्न चाहन्नथे । कुनै शंका थिएन । असमझदारी थिएन । टन्नै सपनाको भारी बोकेर उसति दिन बिताइरहेको थिएँ । लाग्थ्यो यो यात्रा कहिले नटुङ्गियोस् । रहहरु अविश्राम तरिकाले गुडिरहेको थियो । मेरा चाहनाहरु जहाँतही हाँगा फैलाएर उडिरहेको थियो । चाहन्नथेँ म रोक्न ती मेरा इच्छाहरुलाई । मसित पैसा थियो । केटी थिई । मेरो दिन थियो । मेरो समय थियो । लाग्यो मसित अब कुनै थोकको कमी छैन । संसारमा सबैभन्दा खुसी मै थिएँ ।

युरोपियन कारहहरु प्रायजसो बाहिर खाना खान रुचाउँछन तर ऊ अलग थिई । उसलाई बाहिर खाना खान पटक्कै मन पर्दैन्थ्यो । घरमै खाना खान रुचाउँथी त्यो पनि आफैँले पकाएको । म कामबाट फर्किनुभन्दा अगाडि उसले खाना पकाएर राखेकी हुन्थी । म काममा निस्किनुभन्दा अगाडि खाना खुवाएर पठाउँथी । कामबाट घर फर्किने बित्तिकै तिम्रो दिन कसरी बित्यो ? काम कस्तो भयो ? भनेर सधैँ सोध्थी । उसको हेरचाहले मलाई म ग्रीसमा होइन पाकिस्तानमै छु भन्ने अनुभव गराउँथ्यो ।

कुनै कुनै कुरामा विवाद हुँदा बसेर छलफल गर्थी । कसले विवादको सुरुवात गर्यो ? कहाँबाट कसरी विवाद उत्पन्न भयो । यदि उसले गल्ती गरी भने तुरुन्तै माफी माग्थी । मैले गल्ती गरे भने मलाई माफी माग्न लगाउँथी । म माफी माग्न कहिले तयार हुँदैनथेँ । म अहंकारी स्वभावको छु । जति उसको व्यवहार असल थियो मन पनि उतिकै कोमल र सफा । तर, उसको अतीतबारे न मैले कहिले सोधेँ न उसले मलाई कहिले सोधी । कहिलेकाही लाग्थ्यो ऊ किन कहिले अतीतबारे सोध्दिन मलाई । के उसलाई मेरो त्यति विश्वास लाग्छ वा मेरो घरमा मेरी स्वास्नी वा छोराछोरी भए नि उसलाई केही फरक पर्दैन । उसलाई मेरो शरीर र मेरो साथ मात्र चाहिएको हो ?

समय सधैँँ एकनासको कहाँ रहन्छ र ? लाग्यो म बलवान होइन मभन्दा बलवान समय रहेछ । ऊ पढ्न अमेरिका जान्छु भनी । मैले उसलाई रोक्न सकिनँ । स्वार्थी कसरी बन्ने म उप्रति ? जब कि उसले मलाई निस्वार्थ प्रेम गर्थी । ती चार वर्षमा उसले कुनै कुराको माग राखिन । उसलाई घुम्न र पढ्न मनपथ्र्यो । घर, गाडि वा अरु थोक केहीको पनि उसले कहिले माग राखिन ।

मेरो विदा हुनेबित्तिकै म उसलाई घुम्न लग्थेँ । मेट्रोमा घुम्न लग्थेँ । मेरो आफ्नो व्यक्तिगत गाडी थिएन । म काममा हुँदा ऊ पढेर बस्थी । कति राम्रो संसार थियो हाम्रो । शान्त उसको बानीले म खुसी थिएँ । ऊ अमेरिका गएपछि म एक्लो भएँ । मेरो मन उसलाई नै खोज्थ्यो जतिवेला पनि । म उबिना बहुला हुन्छु जस्तै लाग्न थाल्यो । उसको बानी लागिसकेको थियो मलाई । न काम गर्न मन लाग्ने न खाना रुच्ने । न कसैसित कुरा गर्न मन लाग्ने । त्यसपछि मैले ग्रीस छोड्ने निर्णय लिएँ । यहाँ आएँ ।

मेरो मन टुटेको थियो । मलाई उबाहेक कसैतिर हेर्नै मन लागेको थिएन । यहाँ काम गर्न थालँे मोबाइल पसलमा । पिलिपिना कार बाहेक सकैसित मुटु साट्दिनँ भन्ने सोचले अगाडि बढिरहेको थिएँ तर यहाँ एउटा नेपाली कारसित मेरो भेट भयो मोबाइल पसलमा । म त्यतिवेला मोबाइल पसलमा काम गर्थेँ । त्यहाँ ऊ मोबाइल किन्न आएकी थिई । त्यतिवेला हामीले एकअर्कासित वाट्स एप नम्बर साटासाट ग¥यौँ ।

नेपाली कार खासै त्यति राम्री, खाइलाग्दी, आकर्षक थिइन । फिलिपिनाजस्तो राम्री थिइन । होची, अगाडिको उछिटिएका दाँतहरु, भुँडी लागेकी झट्ट हेर्दा फेरि हेरुँ हेँरु नलाग्ने तर बोली चै सारै मिठो । उसले बोल्दा सुनिरहुँ लाग्थ्यो । उसको आवाजले मेरो टुटेको मनलाई मलमपट्टी गरिदिन्थ्यो ।

नेपाली कारसित कुरा गर्दै समय बिताउँदा फिलिपिनालाई बिर्सिन सजिलो हुन थाल्यो । थोरै भए पनि मेरो विछोडको घाउमा मलमपट्टी हुन्थ्यो । उसित कुरा गर्दागर्दै म उसको नजिक हुन चाहन्थेँ । उसलाई स्पर्श गर्न चाहन्थेँ । ममा उसलाई स्पर्श गर्ने भूत सवार भयो । उसित समय बिताउन चाहन्थेँ । मैले एक दिन उसलाई सोधेँ,

तैँले मलाई मनपराउँछेस् ?

मलाई थाहा छैन । भनी उसले ।

उसको कुरा सुनेपछि ममा उप्रति झन झन तृष्णा बढ्न थाल्यो । उसलाई घन्टैपिच्छे फोन गर्थे । फोन नउठाइ काममा व्यस्त छु भनेर म्यासेज छोड्थी । उसले पनि सकेसम्म मलाई म्यासेज गर्दे आफू काममा व्यस्त रहेको सबै जानकारी गराउँथी । म उसको रुप देखेर लोभिइनँ । बोली बाहेक मैले उसमा केही आकर्षक देखिनँ ।

दिनप्रतिदिन भेट्न थालेपछि मप्रति उसको विश्वास बढ्न थाल्यो । मैले उसलाई धेरै हेरचाह गरेको जस्तो देखाउन थालेँ । उसलाई विदाको दिन घुमाउन लग्थेँ । मैले धेरै सहास बटुले एक दिन उसलाई भनेँ, हामी लिभ इनमा बसौँ । मेरो कुरा सुनेर उसले भनी,

हाम्रो संस्कृति मिल्दैन ।

संस्कृति मिलेन त के भो ? मन मिलेको छ । मन मिल्नु नै सबैभन्दा ठुलो कुरा हो । तेरो सबै खर्च म बेहोर्छु । सँगै बसौँ ।

कहाँ बस्ने ? कसको ग्यारेजमा ? म नेपालीहरुको ग्यारेजमा बस्दिनँ । मलाई नेपालीहरुले चिन्न सक्छन् । नेपालमा कुरा लाइदिन्छन् । उसले भनी

म खोज्छु ग्यारेज । मैले भनेँ ।

मैले साथीको ग्यारजेमा एउटा कोठा लिएँ बहालमा

ऊ र म त्यही बस्न थाल्यौँ ।

बाहिरी रुप हेर्दा आकर्ष नदेखिए पनि निकै सुन्दर थिई ऊ । उसको जिउमा हुने सबै अङ्गहरु निकै सुन्दर थिए । फिलिपिनाको विछोडको पीडा भुल्न उसित समय बिताउन चाहन्थेँ । म उसको जिउ प्रयोग गर्न उसित बस्न चाहन्थेँ । हो म स्वार्थी छु । बिना स्वार्थ म कसैलाई साथी बनाउँदिनँ । बिना स्वार्थ म कसैसित बोल्दिनँ पनि । उसलाई साथी बनाएँ मलाई के फाइदा हुन्छ । म हेर्छु, विचार गर्छु । अनि बल्ल कसैलाई साथी बनाउँछु । उसलाई साथी बनाएर मेरो अतीतको घाउ भरिन्छ भनेर मैले मेरो पक्षमा फाइदा देखेँ ।

उसलाई साथी बनाउन खोजिरहेको थिएँ । मलाई उसित बिहे गर्नु थिएन । परिवार बनाउनु थिएन । सपना बोकेर उसित भविष्यको उडान भर्नु थिएन । रहरहरु उसित विसाउनु थिएन । पुरा जीवन बिताउनु थिएन । दुःख मात्र उसित बाँड्नु थियो । सुखका दिनहरु साथमा बोकेर उसित यात्रा गुर्न थिएन । बाध्यतामा मात्र उसको साथ चाहिएको थियो । बस समय बिताउने साथी चहिएको थियो त्यो मैले पाएँ । ऊ धेरै दुःखमा थिई । उसलाई खर्च बेहोर्ने साथी चाहिएको थियो । मैले ग्रीसबाट पैसा बचत गरेर ल्याएको थिएँ । मसित पैसा थियो । यहाँ पनि काम गर्थेँ । उसको खर्च तिर्न मलाई त्यति गारो थिएन ।

म नेपाली कारसित लिभ इनमा बस्न थालेँ । एकाएक ऊ निकै सुन्दर लाग्न थाली मलाई । म काममा जानुअधि उसले मेरो लुगाहरु स्त्री गरेर राखिदिन्थी । म कामबाट फर्किनुभन्दा अगाडि ऊ कामबाट फर्किसकेकी हुन्थी । मेरो निकै हेरचाह गर्थी । ऊ सित बस्न थालेपछि मैले विस्तारै फिलिपिनालाई बिर्सिँदै गएँ । वेलावेला उसलाई हेरेर लाग्थ्यो कति होची केटी । तर उसको बोल्ने शैली, कुराहरु मिलाउने तरिका , सल्लाह सुझाव दिने बानी निकै राम्रा । म उसमा आफ्नोपना पाउँथे । उसले मलाई कहिले पराई मान्छे सोच्दै सोचिनँ । उसको व्यवहार देखेर लाग्यो नेपाली कारहरु व्यवहारले निकै सुन्दर हुन्छन् ।

हामी लोग्ने स्वास्नी जसरी बसिरहेका थियौँ । म उदेखि धेरे खुसी थिएँ । उसले मलाई हेरचाह गर्न कमी भएको महसुर हुनेबित्तिकै मैले स्वार्थी पारा देखाइहाल्थेँ र भन्थेँ, मलाई आजभोलि वास्तै गर्दैनस् किन ? ऊ पनि त्यस्तै गर्थी । कामबाट म ढिला घर फर्कँे भने मलाई फोन गरेर आजभोलि मबाट दिक्क लाग्न थालेको छ हो हजुरलाई ? भन्थी ।

एकअर्कालाई स्वार्थीपना देखाउँदै मुटुको भाका बोल्थ्यौँ । बाहिरी संसारदेखि कुनै वास्ता थिएन । भिड, समाज, आफन्त, साथी, भाइ कसैदेखि हामीलाई वास्ता थिएन । कोही चाहिएको थिएन हामीलाई । दुईजनामै अटाएको थियो हाम्रो पुरै संसार । वेलावेला उसलाई घुमाउन लग्नुपथ्र्यो । उसले रोजेको सामानहरु किनिदिन्थेँ । ऊ त्यसै मख्ख भइहाल्थी । उसलाई खुसी पार्न धेरै ठुलो केही गर्नुपर्दैन्थ्यो । बुझ्ने पनि थिई । किनमेल गर्न जाँदा धेरै महंगो सामान रोज्दैनथी । बरु मैले महंगो लुगाहरु देखाउँदै यो किन् भन्थेँ तर उसले मेरो हातबाट खोस्दै भन्थी , यस्तो महंगो नकिन्ने । भोलिको लागि पैसा बचाउनुपर्छ ।

म उसको दुरगामी सोच देखेर उप्रति झन झन नजिकिन थालेँ । अरु कार भइदिएकी भएँ खाएर, लाएर मेरो सबै पैसा वर्वाद पार्थी तर, ऊ एकजना थिई जसलाई सानोतिनो किनमेल गराए खुसी हुन्थी ।

वेलावेला हाम्रो झगडा पथ्र्यो । तर, म अहंकारी थिएँ । मैले उसको सबै खर्च व्यहोरिरहेको छु । मैले किन उसलाई बोलाउने भनेर नबोली बस्थेँ तर, म जति रिसाए पनि उसले मलाई फकाउन आउँथी । नम्र स्वरमा कुरा गर्थी उसको यस्तो जादुमय व्यवहार र सकारात्मक सोच देखेर म उप्रति झन झनझन आकर्षित हुँदै गएँ ।

ऊ बाथरुम नुहाउन गएको वेला मैले उसको दराज खोलेर एउटा फाइल पल्टाएँ । फाइलमा एउटा सेतो बस र स्कुटीको तस्बिर देखेँ । ऊ बाथरुमबाट आएपछि मैले उसको अगाडि फाइल फाल्दै भनेँ, यिनीहरु को हुन् ?

उसले सहज तरिकाले भनिन्, मेरा श्रीमान् र छोरी हुन् ।

तेरा छोरी र श्रीमान् पनि छन् नेपालमा ? तँ विवाहति छेस् ?

हो म विवाहीत हुँ । उसले भनी

मलाई किन ढाटिस् ? विवाहीत हुँ भनरे किन बताइनस् मलाई ? मैले प्रश्न गरेँ ।

कहिले मेरो अतीतबारे तपाईले सोध्नु भएन अनि मैले कसरी बताउथेँ ? तपाईले ढाट्न मिल्ने मैले ढाट्न नमिल्ने हँ ? कारले भनी

मैले के ढाटेको छु भन् ? मैले भने

उसले मेरो अगाडि एउटा फाइल फाल्दै भनी,

यो निलो कार को हो ?

कहाँ पाइस् ? जासुसी गर्छेस् मेरो ? मैले भनेँ ।

तपाईले जासुसी गर्ने मैले चै नगर्ने ? उसले भनी

निलो कार मेरी स्वास्नी हो । पाकिस्तानमा छे । मैले भनेँ ।

त्यो दिन ऊ धेरै रोई । जसोतसो एक हप्ता बसी । त्यसपछि ऊ छुट्टै बस्ने कुरा गरी । मैले तिम्रो र मेरो परिवार यहाँ नआउन्जेल सँगै बसौँ भने उनीहरु आएपछि छुटौँला भने तर उसले मानिन । ऊ त्यही दिन आफ्नो सामान लिएर निस्की । त्यो दिनदेखि ऊ मलाई भेटेकी छैन । कहिलेकाही फोनमा कुरा हुन्छ । ऊ आफ्नो श्रीमान् र छोरीसित बसिरहेकी छे । फोन गरेर कहिलेकाही सुनाउँछे । उसको लोग्ने धेरै जड्याहा छ रे । उसलाई वास्ता गर्दैन । मैले गरे जति हेरचाह गर्दैन ।

सेतो बसले निलो बसको कथा सुनेर भन्यो,

तँ हाम्रा नेपाली कारहरुको बारेमा बनाबटी कुरा नफैला बुझिस् । आफ्नो औँकातमा बस् ।

सेतो बसको कुुर सुनेर निलो बसले भन्यो, मसित प्रमाण छ ।

देखा न त । सेतो बसले भन्यो । नेपाली कार को रहिछे ? चिनेको कार पो हो कि भनेर उसले निलो बसलाई नेपाली कारको तस्बिर देखाउन भन्यो । निलो बस सेतो बससित धेरै मिल्ने भएकोले उसले सोतो बसलाई तस्बिर देखायो ।

त्यो तस्बिर सेतो बसकी स्वास्नी कारको तस्बिर थियो ।

त्यो तस्बिर देखेर सेतो बसलाई ठुलो झट्का लाग्यो । उसको रगत उम्लियो । तर केही बोलेन ।

म यो कारलाई चिन्दिनँ । चिनेर पनि चिन्दिनँ भन्यो सेतो बसले ।

उसित बस्थिस् भन्ने के प्रमाण छ ? तैँले यो तस्बिर सामाजिक सञ्जालबाट तानेको पनि हुनुपर्छ कारलाई बदनाम गर्नलाई । सेतो बसले भन्यो ।

मैँले किन उसलाई बदनाम गर्नु ? म उसलाई प्रेम गर्थे । निलो बसले भन्यो ।

त्यसो भए के के छ देखा । सेतो बसले प्रश्न ग¥यो ।

उसले देखाउन हिचकिचायो ।

सेतो बसले हाँस्दै भन्यो,

साँच्चि म यो कारलाई चिन्दिनँ । मलाई देखाएर केही फरक पर्दैन ।

उसले मोबाइल खोल्यो । तस्बिर देखाउँदै भन्यो,

ल हेर् । एउटा मात्र तस्बिर बाँकी छ । सबै डिलिट हानिसकेँ । उसलाई बिर्सेको दिन यो तस्बिर पनि डिलिट हान्छु । ऊ साँच्चिकै यार आगो थिई ।

तस्बिरतिर सेतो बसले हे¥यो । निलो बस र सेतो कार दुबै बाथरुममा विवस्त्र नुहाउँदै गरेको तस्बिर थियो । त्यो तस्बिर देखेर सेतो बसलाई धेरै क्रोध उत्पन्न भयो । तीव्र गतिमा गुड्दै उसलाई ठक्कर हान्न मन लाग्यो । उसको झ्याल, ढोका फुटाएर पाङ्ग्रा समेत भाँच्न मन लाग्यो । तहसनहस पारेर दुर्घटना घटाउन मन लाग्यो । तर उसले आफूलाई रोक्यो । उसलाई यति मात्र भन्यो, यो तस्बिर डिलिट हान्

कुनै दिन डिलिट हान्छु यार । किन तँलाई के भयो ? निलो बसले भन्यो

नेपाली कारलाई बेज्जत गर्नु राम्रो होइन । सेतो बसले भन्यो ।

आफ्नै स्वास्नी कारको नग्न तस्बिर निलो बससित देखेपछि सेतो बसको मनमा के बित्यो होला ? ऊ कुन अवस्थामा गयो होला ? आफूलाई कसरी सम्हालेको होला ? उसको मानसिक अवस्था कस्तो भयो होला ? ऊ जिउँदे मरेतुल्य भयो ।

उसलाई त्यो दिन काम गर्नै मन लागेन । सामानहरु ढुवानी गर्नु थियो । उसले पिठ्यँुमा सामानको भारी बोकेको थियो तर, उसको मन कमजोर थियो । उसको जिउमा ऊर्जा थिएन । ऊ ऊर्जाहनि अनुभव गरिरहेको थियो । ऊ दिनभरि पाङ्ग्रामा गुडिरहयो तर कता जाने के गरिरहेको छ केही थाहा भएन । ऊ निलो बसलाई देखेर क्रोधित हुन्थ्यो वेलावेला । आफ्नी स्वास्नी कारको नग्न तस्बिर हेरेर क्रोधित हुन्थ्यो ।

जब उसले सामानहरु झार्नेवेला भयो उसको क्रोधको सीमा रहेन । उसको पिठ्युमा काँचका कपहरु र सेरामिक्सका थालहरु थिए । सामान झार्ने वेला पिठ्यु बेस्सरी उल्लार ग¥यो । कप र थालहरु झ्यारझ्यार हुँदै भुँइमा झरे । सबै फुटे । उसले सबै क्रोध कप र थालमा पोख्यो । उसले २ सय युरोको सामान फुटायो । उसको साहु ट्रकले उसको तलब खातामा २ सय युरो उधारो लेखेर चढायो । उसको तलब आउने दिन २ सय युरो काटिने छ ।

जब कामबाट बेलुकी सेतो बस घर फर्कियो स्वास्नी कारलाई सोधेँ, पाकिस्तानी बससँग चक्कर थियो तेरो ?

तर उसले स्वीकारिन । सेतो बसलाई भुलभुलैयामा राखी । सबै झुटो हो । मैले त्यस्तो केही गरेकी छैन । म कुनै पाकिस्तानी बसलाई चिन्दिनँ । मलाई कसैले बदनाम पार्न खोजेको होला भनी ।

भोलिपल्ट काममा गएको वेला निलो बसले मोबाइल चलाउँदा सेतो बस उसको वरिपछि भइरहन्थ्यो । उसले मोबाइलको लक कोड पत्ता लगाउनलाई उसको परिपरि भइरहन्थ्यो । एक दिन उसले निलो बसको मोबाइलको लक कोड पत्ता लगायो । ऊ मोबाइल चार्जमा छोडेर सिपाब फेर्न गएको दिन सेतो बसले कार र निलो बसको विवस्त्र तस्बिर आफ्नो मोबाइलमा सा¥यो । निलो बसको मोबाइलमा भएको तस्बिर डिलिट हान्यो ।

बेलुकी कामबाट घर फर्केपछि त्यो तस्बिर स्वास्नी कारलाई देखायो । उसले तैपनि स्वीकार्न तयार भइनँ । म हुँदै होइन भनेर सेतो बसलाई मूर्ख बनाइरही । त्यसो भएँ म भोलि पुलिस चौकी जान्छु । निलो बस बिरुद्ध मद्दा हाल्छु । सेतो बसले भन्यो । यो कुरा सुनेपछि सबै पोल खुल्छ सोचेर कारले भनी,

हो यो म नै हुँ । यही नै सुन्न खोज्नु भएको होइन । म पाकिस्तानी बससित लिभ इनमा बस्थेँ ।

हजुर नेपालमा बस्नुहुन्थ्यो । म यहाँ कुन अवस्थामा थिएँ । कति सङ्घर्ष गरिरहेकी थिएँ हजुरलाई के थाहा ।

यसको अर्थ के ? तँ इज्जत बेच्छेस् ? इमान बेच्छेस् । मलाई बिर्सेर त्योसित कसरी लागिस् ? नैतिकता भन्ने चिज छँदै छैन तँमा । मलाई मारिस् । मेरो जीवनमा दाग लगाइस् । सेतो बसले भन्यो ।

कारले भन्न थाली,

माल्टा आएँ काम गर्न । माल्टामा दिनभरि खेतीमा काम गर्थेँ । दिनभरि घाममा तरकारी टिप्थेँ र ओसारपसार गर्थे । घाममा काम गर्दा घामले पोलेर अनुहारै डढिसकेको थियो मेरो । हातहरुमा चाउरी परिसकेको थियो । जाडोमा चरचरी फाट्थे मेरा हात, खुट्टा चिसोले । औँलाहरुमा फोका आएको थियो । ती फोकाहरु विस्तारै ठेलामा परिणत भए । मेरा औँलाहरुमा र अँजुलीमा अहिले पनि ठेलाहरु बाँकी नै छन् । खेतमा काम गर्दा घामले सुर्सानी सरी बेस्सरी पोल्थ्यो । त्यो घाम म कहिले बिर्सिन सक्दिनँ ।

आराम कहिले थिएन जिउमा । सातै दिन काम । । त्यही काम गर्ने समूहका साथीहरु माल्टाबाट पोर्तुगल जाऔँ भनेँ । माल्टामा काम मात्र गर्न पाइने । पोर्तुगलमा कागज बन्छ भन्यो । परिवारलाई पनि बोलाउन पाइन्छ कागज बनेपछि सुनेँ ।

यहाँ छिर्दा जीवन यति कठिन हुन्छ भन्ने थाहा थिएन । बस्नलाई ग्यारेज नपाउने । काम नपाउने । बस र कारहरुको उच्च चाप थियो । ६ महिनासम्म दिनभरि काम खोज्नलाई भौतारिरहेँ तर काम कतै पाइनँ । भाषा नबुझ्ने । आफन्त कोही थिएन । । यहाँ आएपछि लाटी नै भएँ । ६ महिनापछि बल्लतल्ल काम पाएँ एक ठाउँमा । त्यो पनि आधारभूत तलब मात्र दियो । ग्यारेजको भाँडा तिनुपथ्र्यो । खान बस्न धौधौ भइरहेको थियो । त्यसमाथि हजुरहरुलाई महिनैपिच्छे नेपाल पैसा पठाउनुथ्र्यो ।

ती दिनहरु सङ्घर्षले भरिएका थिए । मैले पाकिस्तानी बसलाई भेटेँ । उसले लिभ इनमा बसौँ । खर्च म बेहोर्छु भन्यो । मलाई राहत हुन्छ भनेर उसित बस्न थालेँ ।

सुरुमा राम्ररी नै बित्दै थियो दिन तर विस्तारै पाकिस्तानी बसमा संवेदना हराउँदै गयो । मलाई मान्छे होइन मासुको डल्लो देख्न थाल्यो । म कामबाट ढिला फर्किएको वेला शङ्काको दृष्टिले हेथ्र्यो । भन्थ्यो , किन ढिला फर्किस् ? कोसित के गराएर आइस् ? कति अश्लिल शङ्का गथ्र्यो । कामबाट ढिला फर्किनु कसैसित नाजायस सम्बन्ध राखेर फर्किनु हैन नि । काम विशेषले ढिला हुन्थ्यो । अनि त्यतिले नि पुग्दैन्थ्यो मेरो लुगा खोलेर मेरो जिउको अङ्गहरु ह्ेथ्र्यो । मैले साच्चिँकै ढाटेकी पो हुँ वा अरु बससित सुतेर पो आए कि भनेर मलाई शंकाले हेथ्र्यो । मेरा गोप्य अङ्गहरु छाम्थ्यो ।

खना खानेवेला उसले मेरो जुठो नखाने अनि मलाई उसले सधैँ आफ्नो जुठो खान लगाउँथ्यो । मेरो जुठो खाए मात्र मलाई प्रेम गर्छेस् भन्ने विश्वास लाग्छ भन्थ्यो । वेलावेला मानसिक रोगी नै लाग्थ्यो मलाई । पागल जस्तो बेहोरा देखाउथ्यो । एक दिन ढिला फर्केको दिन यतिसम्म गर्यो कि मेरो लुगा फुकालेर सर्वाङ्ग नाङ्गो बनायो मलाई । मेरो अङ्गहरु छाम्न थाल्यो । छाम्दै भन्यो कसैसँग केही गराएकी त छैनस् । त्यो दिन हानेँ एक थप्पड उसको गालामा र भनेँ,

तपाईँले के ठान्नु भएको हँ मलाई ? तपाईँ को हो मेरो गोप्य अङ्ग छाम्ने ? म तपार्इँसित एक छिन अब बस्न सक्दिनँ । म अहिलेको अहिले यहाँबाट जान्छु । मलाई तपाइसित बस्नु छैन ।

मेरो कुरा सुनेर उसले खुट्टै ढोग्यो । मेरो खुट्टा समातेर घन्टौँ बसिरहयो । मेरो मन कोमल थियो । मैले उसलाई छोडेन जान सकिनँ । परदेश जस्तो ठाउँमा । आफन्त, चिने जानेको कोही थिएन । कहाँ जान्थेँ । तत्कालै जाने ठाउँ पनि थिएन ।

उसित अब जसरी पनि छुटिन चाहन्थेँ । एक्लै बस्न चाहन्थेँ । बस्ने ग्यारेज खोजिरहेकी थिएँ तर पाइरहेकी थिइनँ ।

म आफ्नो खुट्टामा बञ्चरो आफैँले हानेकी थिएँ । गल्ती मेरो पनि थियो । पैसाको लोभमा नफस्नुपर्ने थियो । दुःख गरेर एक्लै बस्नुपर्ने थियो । तर, लोभ गरिछु । त्यसकै परिणाम भोग्दै थिएँ । उसलाई म चाहिएको थिइनँ । मेरो शरीर चाहिएको थियो । मेरो जवानी चाहिएको थियो । मेरो मासु चाहिएको थियो उसलाई । उसले मलाई प्रयोग गरिरहेको थियो । जति दिन उसित बसे उसले मलाई कुनै पनि रात स्वतन्त्र रुपमा बस्न दिएन । कहिले मेरो जिउलाई आराम गर्न दिएन । नराम्रो अस्था थियो मेरो । दिनभरि मेसिन जसरी काम गर्थे राति घरमा उसले मेरो मासुसित खेल्थ्यो । म कस्तो अवस्थामा थिएँ होला ?

जिउमा आराम थिएन । मानसिक र शारीरिक दुबै रुपमा म कमजोर हुँदै गएकी थिएँ । छुट्टीको दिन रातभरि जाग्राम बस्थ्यो ऊ । मेरो जिउको मासु घन्टैपिच्छे लुछेको लुछै गथ्र्यो । घिन लाग्थ्यो मलाई उदेखि । आफैँदेखि पनि हेय भाव उत्पन्न हुन्थ्यो मलाई । आफ्नै जिउको अङ्हरु देखेर मलाई घृणा लाग्थ्यो । सपनाहरु एकातिर थियो मेरो । रहरहरु भाँसिएका थिए ।

आफ्नै अङ्गहरु काटेर फाल्न मन लाग्थ्यो । कति दिन समुद्री तटमा गएँ । समुद्रमा हाम फालेर आत्महत्या गर्न मन लाग्थ्यो वेलावेला तर आफैँलाई मार्न सकिनँ । छोरी स्कुटीको माया लाग्थ्यो । स्कुटीको मायाले मलाई आत्महत्या गर्न रोक्यो ।

राक्षस देख्थेँ म उसलाई । म शारीरिक हिंसाको सिकार भइरहेकी थिएँ ।

उसले जाबो ग्यारेज भाँडा र खाना खर्च तिरेको थियो । वेलावेला किनमेल गर्न लैजान्थ्यो । उसलाई लाग्दो हो उसले मलाई ग्यारेज भाँडामा लिएर राखेको हो त्यसैले मेरो जिउप्रति उसको अधिकार हुनुपर्छ । तर जिउ मेरो थियो । मेरो जिउप्रति मेरो अधिकार हुनुपर्छ । मलाई भोग्न मसित बसेको थियो ऊ । मेरो जिउको मासु लुछ्न मेरो पछि लागेको थियो । मप्रति कुनै स्नेह देखिनँ । जति पैसा ममा खर्च गथ्र्यो त्यो भन्दा दस गुणा मेरो मासुसित खेल्थ्यो । स्वार्थले भरिउको थियो ऊ । योभन्दा ठुलो हिंसा के नै हुन सक्छ र ? चाहेर पनि छुट्न सकिरहेकी थिइनँ ।

जुन दिन थाहा पाएँ । पाकिस्तानमा उसकी स्वास्नी निलो कार छे त्यही दिन मैले उसलाई छोडेर निस्केँ । धेरै दिनदेखि निस्किन खोजिरहेकी थिएँ तर सकिरहेकी थिइनँ । त्यो दिन निस्केर म स्वतन्त्र अनुभव गरेँ । फुक्का अनुभव भयो । जेलमुक्त भएको अनुभव भयो । खुलेर सास लिन नपाएको कति भएको थियो त्यो दिन मैले खुलेरु सास लिए ।। मैले मेरोे जिउमाथि आफनो अधिन जमाएँ । कम्ता खुसी लाग्यो । पार्कमा गएर खुसीले रोएँ । तपाईलाई सम्झेर रोएँ । स्कुटीलाई समझेँर भकानो फुट्यो । तपाईको विश्वासलाई आघात पु¥याउने काम गरेको सोचेर मैले आफ्नै कपाल भुतालेर पागलसरी रोएँ ।

प्रहरीलाई म हिंसामा परेको उजुरी दिने समेत सोच आयो तर मसित कुनै प्रमाण थिएन । मैले मोबाइलमा फोटो कहिले खिचिन, भिडियो बनाइनँ । हुन त मलाई फोटो खिच्ने र भिडियो बनाउने रहर पनि खासै छैन । म सामाजिक सञ्जल पनि त्यति चलाउँदिन ।

दुई वर्ष उसित बसेँ । त्यसपछि एक्लै बसन थालेँ । चार वर्षमा मेरो कार्ड बन्यो त्यसपछि तपाईलाई र स्कुटीलाई बोलाएँ ।

म निलो बसबाट दुई वर्ष पहिला अलग भइसकेकी थिएँ । निलो बसको टि. आर. कार्ड बनेको थिएन तर उसलाई पाकिस्तानबाट स्वास्नी निलो कारलाई ल्याउने हतार भइसकेको थियो । तर, निलो बसको साथी टोयटाको टि. आर. कार्ड बनिसकेको थियो । टोयटा अविवाहीत थियो । निलो बसले कार्ड बनेको टोयटासित अफ्नी स्वास्नी निलो कारको कागजी रुपमा बिहे गर्न लगायो । बिहे गराएर निलो बसले टोयटाकी नक्कली स्वास्नी बनाएर आफ्नी स्वास्नी निलो कारलाई ल्यायो । यहाँ आएर नक्कली बिहे गर्न लगाएकी टोयटासित निलो कारको सम्बन्धबिच्छेद गर्न गरायो । निलो कार आफ्नो लोग्ने निलो बससित बस्न थाली । निलो बससित बस्थी तर नक्कली बिहे गरेको टोयटासित उसको चक्कर चल्न थाल्यो । ६ महिनापछि ऊ लोग्ने निलो बसलाई छोडेर टोयटासित भागी ।

सत्य यही नै हो । अब हजुरलाई जे गर्न मन लाग्छ गर्नुस् । मलाई जे सजाय दिनुहुन्छ म भोग्न तयार छु । सेतो कारले लोग्ने सेतो बसलाई भनी ।

सेतो बस कति लाचार लोग्ने थियो । आफनै स्वास्नीको मुखबाट अरु बससित सुतेको कुरा सुनिरहेको थियो । छोरी स्कुटी नभइदिएकी भए सेतो बसले कारलाई छोडेर गइदिन्थ्यो । उसलाई स्कुटीको सारै माया लाग्छ । स्कुटीलाई छोड्न सक्दैन । कार गर्भवती पनि छे । सेतो बसको मनमा के बित्दै छ त्यो उसलाई मात्र थाहा छ ।

अंशको कुरा सुनेर प्रेमराजले भने, तेरो श्रीमतीसित यस्तो घटना घटेको छ ? अर्सलनकी स्वास्नी पनि नक्कली बिहे गराएर ल्याएको केटोसित भागेकी छे ?

उनको कुरा सुनेर अंशले भन्छन्, ह्या बुढा । यो मेरी स्वास्नीको कथा होइन है । यो एकजना साथीको कथा हो । नाम लिन मिलेन ।

प्रेमराज अंशको अनुहारतिर हेरे । केही बोलेनन् । उनले मनमनै भने, जति सोझो ठानेको थिएँ त्यति सोझो यो केटो रहेनछ । उनलाई अंशकै कथा लाग्यो । घुमाएर कहिले साथीको कथा बनायो त कहिले बस र कारको कथा बनायो । बाठो केटो ।

अंशले थपे, अब भन्नुस् त दाइ सेतो बसले कारलाई कसरी स्वास्नी स्वीकार्छ ? कार गर्भवती पनि छे । उसलाई विश्वास कसरी गर्छ अब बसले । विश्वास गर्नलाई बाँकी के नै छ र ?

उनलाई उदास देख्छन् प्रेमराज । उनलाई सम्झाउँदै भन्छन्,

कारको गर्भमा भएको बच्चा कस्को हो ?

उसकै लोग्ने सेतो बसको हो नि । अंशले भने ।

बस र कार मिलेर बस्न सक्दैन भने सम्बन्ध विच्छेद गराउनुपर्छ । बस्न सक्छ भने पचाएर बस्नुपर्छ । कार इमानदार रहिछे । सबै कुरा लोग्नेलाई सुनाई नभए यस्तो इमानदार स्वास्नी कहाँ हुनु सबैको ? यसरी धेरै नेपाली बस र कारहरुको ग्यारेज बिग्रेको छ । बाँकी बसको इच्छा । बसलाई जे सही लाग्छ त्यो गर्छ । जीवन उसको हो । निर्णय उसले लिनुपर्छ । दुई थरिको बाटो छ । जुन बाटो सही लाग्छ त्यही बाटो रोज्नुपर्छ बसले ।

प्रेमराजको कुरा सुनेर अंश केही बोलेनन् । उनको अनुहारमा क्रोध देखिन्थ्यो । अनुहारको रङ उडिसकेको थियो । ओठ सुख्खा थियो ।

अर्सलनले अंशललाई किन चिनेन ? त्यतिवेलाको तस्बिरमा अंश दुब्लो थियो । अहिले मोटाइसकेको छ । त्यही भएर अंशलाई अर्सलनले चिन्दैन ।

भोलिपल्ट अंश काममा आउँदा प्रेमराजले सोधेँ, बसले के निर्णय लियो केटो ?

स्कुटीको विचल्ली हुन्छ बुढा । कार पनि गर्भवती छे । बसले सबै कुरा पचाएर पाङ्ग्रा अगाडि बढाउँदै गुडिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्