३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

१४ वर्षदेखि अपुरै बाजुराको गुइगाड खोला पुल, हस्तान्तरण नहुँदै जीर्ण

२ भदौ, बाजुरा । बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडकखण्डमा पर्ने गुइगाड खोलामाथिको पुल जीर्ण बनेको छ । १४ वर्षदेखि बनिरहेको उक्त पुल निर्माण व्यवसायीबाट हस्तान्तरण नहुँदै जीर्ण बनेको हो ।

ट्रसले बनेको उक्त जीर्ण पुलमाथि नै जोखिम मोल्दै यातायात सञ्चालन भइरहेको छ । पुल जोखिमपूर्ण भएपछि सडक डिभिजन कार्यालय साँफेबगर अछामले ‘एक पटकमा एउटा मात्र गाडी’ भनेर होडिङ बोर्ड राखेको छ ।

२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । कम्पनीले ५ करोड ९६ लाख १ सय १२ रुपैयाँ ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले तोकिएको समयमा काम नसकेपछि ०७१ असार मसान्तसम्म म्याद थपिएको थियो । थप गरिएको समयमा समेत निर्माण कम्पनीले काम नसकेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले बताएको छ ।

०७५ मा आएर बल्ल निर्माण कम्पनीले काम सकेको जानकारी दिएको थियो । पछि पक्की ट्रस ब्रिजको चेकजाच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनु पर्ने सामग्री स्टमेट अनुसारको जडान नभएको भेटिएको थियो ।

सडक डिभिजन कार्यालय साँफेबगरका अनुसार ६ वर्षअघि मात्रै बनेको ६० मिटर लामो उक्त पुलले ४५ टन लोड भार धान्नु पर्ने हुन्छ । तर, सडक डिभिजन कार्यालय साफेबगर अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलको भार परीक्षण गर्दा ३० टनसमेत भार धान्न नसकेर पुल चर्किएको थियो । भार क्षमताभन्दा कममै पुल लच्किएर चर्किए पछि पुल पास पनि भएको छैन ।

जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्न मिल्ने गरेर साइनबोर्ड टाँस गरेर पुल सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ ।

पुलले स्टमेट अनुसारको क्षमता अनुरुप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुलको पुनर्निर्माण हुनुपर्ने स्थानीयहरुले बताएका छन् । सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले पुलबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताए ।

पुलमा एकपटकमा एउटामात्रै सवारी साधन आउजाउ गर्न मिल्ने साइनबोर्ड राखिए पनि कुन सवारी साधन कति क्षमताको भन्ने उल्लेख गरिएको छैन । सवारीको भारवाहन क्षमता नखुल्दा झनै जोखिम बढेको यातायात व्यवसायीले बताएका छन् ।

निर्माणमा कमजोर सामग्री प्रयोग गरिँदा पुलका बाहिरी भाग खुइलिएर भित्री फलामे छड पनि देखिन थालेका छन् । गुइगाड खोलाले बगाएर पुलका पिल्लरसमेत जमिनभन्दा माथि निस्किएका छन् । ‘पिल्लरको सुरक्षामा कसैले पनि ध्यान दिएका छैनन्,’ स्थानीय तुला थापाले भने ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जोखिमयुक्त गुइगाड खोला पुलको सुरक्षाका लागि सडक डिभिजन कार्यालय साँफेबगरलाई धेरै पटक जानकारी गराएको बताए । निर्माण कम्पनीले पुल हस्तान्तरण नगरेकोले सडक डिभिजनले काम गर्न नमिल्ने जवाफ आउने गरेको उनले बताए ।

सडक डिभिजन कार्यालय साफेबगर अछामका प्रमुख रमेश चौधरीले निर्माण कम्पनीले अझै काम पूरा नगरेको बताए । आफू्ले निर्माण कम्पनीलाई पुलको आवश्यक मर्मत गरेर हस्तान्तण गर्न धेरै पटक पत्राचार गरेको भएपनि अटेर गरेको सुनाए । निर्माण कम्पनीले हस्तान्तरण नगर्दासम्म सडक डिभिजनले पनि मर्मत गर्न नमिल्ने उनको भनाइ छ ।

सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ । ५ करोड ९६ लाख १ सय १२ रुपैयाँमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा ५ करोड २८ लाख २० हजार ५७ रुपैयाँ निकासा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्