३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आइबुप्रोफेन मनलाग्दी खानु घातक

२ भदौ, काठमाडौँ । खुट्टा दुखेर हैरान भएका जोरपाटीका श्याम श्रेष्ठ (नाम परिवर्तन) दिनहुँजसो आइबुप्रोफेन सेवन गर्थे । औषधि खाने समयसम्म उनलाई दुखाइ कम हुन्थ्यो । जसकारण उनका लागि सहज र सुलभ रामवाण जत्तिकै थियो, आइबुप्रोफेन ।

खुट्टाको दुखाइ त छँदै थियो । उनलाई बिस्तारै बान्ता हुने, रिंगटा लाग्ने, पाचन र पिसाबमा पनि समस्या देखियो । उनलाई यी समस्याले पिरोलेपछि ग्रान्डी इन्टरनेसनल अस्पताल पुगे ।

उनको मिर्गौलामा समस्या देखिएको पत्ता लाग्यो । कारण बुझ्दा उनले खुटटा दुख्ने बित्तिकै लामो समयदेखि आइबुप्रोफेन गरेको पाइयो ।

यता, भक्तपुर बस्ने ४८ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) पनि माइग्रेनका कारण टाउको दुखिरहन्थ्यो । उनी फार्मेसीमा टाउको दुख्यो भनेर समस्या सुनाएपछि फार्मेसीबाट आइबुप्रोफेन औषधि लिएर आइन् ।

यो औषधि खाँदा उनलाई राहत मिल्यो । त्यसपछि उनले लामो समयसम्म सो औषधिको प्रयोग गरिन् । अन्ततः उनलाई पाचनसम्बन्धी समस्याले सतायो । अस्पताल गएर देखाउँदा पेटमा अल्सर भइसकेको थियो । उनीसँग सोधपुछ गर्दा उनले टाउको दुख्दा प्राय: आइबुप्रोफेन खाँदै आएको पाइयो ।

यी त केही उदाहरण मात्रै हुन् । अधिकांश मानिस औषधिको सामान्य अल्पज्ञानकै कारण कालान्तरमा गम्भीर स्वास्थ्य समस्या लिएर आइरहेका हुन्छन् । आइबुप्रोफेन औषधि लिनुअघि यो औषधि के हो ? कस्तो अवस्थामा खाने र कति खाने भन्ने बारे ज्ञान हुनु आवश्यक हुन्छ ।

आइबुप्रोफेन एक ननस्टेरोइडल एन्टिइन्फ्लेमेटरी औषधि हो । जसले शरीरमा हुने दुखाइ र ज्वरो नियन्त्रणमा भूमिका खेल्छ । साथै यसले सुजन पनि घटाउँछ । तर यो औषधि चिकित्सकको निर्देशनमा मात्रै खानु राम्रो हुन्छ ।

एकाधपटक ‘ओभर द काउन्टर’ खाँदा ठूलो समस्या निम्त्याउँदैन तर पटक-पटक खाँदा अवस्था नाजुक बनाउन सक्छ ।

यसले शरीरमा गर्ने काम के हो ?

आइबुपोफ्रेनमा एन्टीपाइरेटिक र एनाल्जेसिक तत्व हुन्छ । एनाल्जेसिकले दुखाइ कम गर्ने काम गर्छ । आइबुपोफ्रेनले शरीरको रसायनहरुमा अन्तरक्रिया गरी दुखाइ कम गराउँछ । एनाल्जेसिक तत्वले ‘प्रोस्टाग्ल्यान्डिन’ भन्ने हर्मोनको उत्पादनलाई कम गर्छ ।

प्रोस्टाग्लान्डिनले नै दुखाइको अनुभव गराउने र शरीरका अंगहरु सुन्निने समस्या बढाउँछ । प्रोस्टाग्लान्डिनको मात्रालाई घटाउन सके दुखाइ कम हुँदै जान्छ ।

त्यस्तै, आइबुपोफ्रेनमा हुने एन्टीपाइरेटिक तत्वले ज्वरो कम गराई शरीरको तापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

कस्तो अवस्थामा प्रयोग गरिन्छ ?

आइबुपोफ्रेनले शरीरमा अस्थायी रूपमा दुखाइबाट राहत प्रदान गर्छ । यसले शरीरमा देखिने यी स्वास्थ्य समस्याको लक्षणमा काम गर्छ ।

– त्यो माइग्रेन, तनाव र अन्य कारणले हुने टाउको दुखाइ पनि हुनसक्छ । यी सबैखाले टाउको दुखाइ कम गर्छ ।

– दाँतसम्बन्धी दुखाइ (बुद्धि बङ्गारा दाँत आउँदा, दाँतको उपचारको क्रममा, दाँत निकालेपछि वा दाँतमा ब्रेसेस (तारजाली) राख्ने प्रक्रिया र आरसीटी (दाँतको जरा सफा गर्ने)को क्रममा

– रुघाखोकी लाग्दा वा सो कारणले घाँटी सुन्निंदा

– ढाड तथा मांसपेशी दुखाइमा

– महिनावारीमा हुने तल्लो कम्मर तथा पेट दुखाइमा

– बाथरोगका कारण जोर्नीमा बढ्ने दुखाइमा

– ज्वरो आएमा

केही अवस्थामा सावधानी अपनाउनुपर्छ ?

मुटुको कोरोनरी धमनी र ओपन हार्ट सर्जरीको उपचार गर्नुअघि, उपचार प्रक्रिया र गरिसकेपछि पनि यो औषधि दिइन्छ । तर यो औषधिका जटिलताका कारण त्यति राम्रो मानिंदैन ।

त्यसैगरी ग्यास्ट्राइटिसका गम्भीर बिरामी, आन्द्रा तथा पेटमा रक्तस्राव हुँदा पनि यो औषधि चलाउनु उपयुक्त हुँदैन । कसैमा यो औषधिको एलर्जी भएमा वा कलेजो तथा मिर्गौलामा रोगमा यो औषधि चलाउनु हुँदैन ।

त्यस्तै, डेंगुमा हेमोरेजिक फिभर (ज्वरो) देखिन्छ । यो अवस्थामा पनि आइबुप्रोफेनको सट्टा पारासिटामोल दिनुपर्छ । यो औषधिको काम दुखाइ कम र ज्वरो घटाउने भएपनि यी अवस्थामा नदिनुको एउटै कारण भनेको साइड-इफेक्ट नै हो ।

सम्भावित साइडइफेक्ट

यो औषधि प्रयोगले पेट पोल्ने, मुटु पोल्ने, कब्जियत, पखाला लाग्ने, बान्ता हुने, रक्तचाप बढाउने जस्ता साइड-इफेक्ट देखिन सक्छ । दम, सास फेर्न कठिन हुने, अनुहार सुन्निने, अनुहार पहेंलो हुने, दिसा कालो हुने, दिसामा रगत देखा पर्ने यसका गम्भीर साइड-इफेक्ट हुन् ।

बजारमा के कस्तो रूपमा यो औषधि पाइन्छ ?

यो औषधि आइबुप्रोफेन नामक ट्याबलेटको रूपमा उपलब्ध छ । दुखाइ निवारक औषधि फ्लेक्सनमा पनि यही औषधि हुन्छ ।

आइबुप्रोफेनको पनि आफ्नै मात्रा हुन्छ । सो औषधि कति खाने भन्ने कुरा चिकित्सकले बिरामीको अवस्था कतिको सामान्य वा जटिल छ, सो आधारमा खान सुझाउँछन् ।

त्यसैले, जथाभावी यो औषधि खान हुँदैन ।

जथाभावी खाँदा के हुन्छ ?

यो औषधि हचुवाको भरमा लामो समयसम्म खाँदा यसले मिर्गौला खराब गर्न सक्छ । मुटुको रोग भएकाले लामो समयसम्म यो औषधि लिएमा मुटुको कार्यमा बाधा पुग्न सक्छ ।

सन् २०१५ मा फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यो औषधिको अत्यधिक प्रयोगले हृदयघात वा मस्तिष्काघातसम्म हुनसक्ने भन्दै लामो समयसम्म नखान चेतावनी समेत दिएको थियो ।

फ्लेक्सन र आइबुप्रोफेनमा कुन सुरक्षित ?

यदि माथि उल्लेखित कुनै गम्भीर स्वास्थ्य समस्या छैन भने आइबुप्रोफेन भन्दा फ्लेक्सन नै प्रभावकारी र सुरक्षित भन्न सकिन्छ । किनकि फ्लेक्सनमा पारासिटामोल सहितको आइबुप्रोफेन हुन्छ । यी दुई शक्तिशाली औषधि भिन्न भिन्न रूपमा भन्दा मिलेर काम गर्दा बढ्ता प्रभावकारी हुन्छ ।

तर यसो भन्दैमा यो औषधि ओभर द काउन्टर पाइन्छ भन्दैमा चिकित्सकलाई नसोधी खानु हुँदैन । लामो समयसम्म दुखाइकै लागि यस्ता औषधि खानु हुँदैन ।

यो औषधिले अरु कुन औषधिसँग प्रतिक्रिया गर्न सक्छ ?

यो औषधि खानुअघि अरू औषधि खाएको नखाएको चिकित्सकलाई बताउनुपर्छ । किनकि यो औषधिले अन्य औषधिसँग प्रतिक्रिया गर्छ । कतिपय औषधिले शरीरभित्र आन्तरिक रक्तस्राव (इन्टरनल ब्लिडिङ) गराउन सक्छ ।

– साइक्लोस्पोरिन (अङ्ग प्रत्यारोपण गराएको अवस्थामा प्रयोग हुने)

– लिथियम (मेनिया, बाइपोलार डिसअर्डर जस्ता मानसिक समस्यामा प्रयोग हुने)

– मेथोट्रेक्सेट (बाथ र सिरोसिस भएको अवस्था प्रयोग हुने)

– वारफारिन, कोयुमाडिन र जानटोभेन (रगत पातलो पार्ने प्रयोग हुने)

– डाइयुरेटिक वा वाटरपिल (मुटु वा रक्तचापमा प्रयोग हुने औषधि)

– प्रेडनिसोन (स्टरोइड औषधि)

आइबुपोफ्रेन मात्र होइन, कुनै पनि औषधि ‘ओभर द काउन्टर नलिऊँ

नेपालमा मनलाग्दी औषधि किन्ने र बेच्नेको लेखाजोखा छैन । अरूले सुनेको भरमा औषधि खानेहरूको संख्या पनि ठूलो छ । घरेलु उपाय र फार्मेसीबाट अन्दाजमा किनेको औषधिबाट पनि निको नहुने सम्भावना देखेपछि मात्र धेरैजसो अस्पताल जान्छन् ।

नतिजा, औषधिबारे ज्ञान नहुँदा हचुवाको भरमा अलिकति समस्यामा पनि आइबुपोफ्रेन जस्ता औषधिले गम्भीर समस्या ल्याउन सक्छ ।

त्यसैले सामान्य समस्या हुँदा पनि हत्तपत्त औषधि खानुको सट्टा एक पटक चिकित्सकको सिफारिस लिनु आवश्यक छ । किनकि औषधिको आफ्नै मात्रा र अवधि हुन्छ । यदि यी दुईको असन्तुलनले घातक परिमाण दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्