३१ भाद्र २०८१, सोमबार
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

नाडा अटो शो ११ भदौदेखि, ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिने

२ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ११ भदौदेखि नाडा अटो शो सञ्चालन गर्ने भएको छ ।

१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने भएका छन् ।बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपाङ्ग्रे, १९ ब्रान्डका दुई–पाङ्ग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिने जानकारी दिएका हुन् ।

अटो शोमा अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन हुने र यसले अर्थतन्त्रलाई वृद्धि गर्ने मञ्चको रूपमा तयार हुने विश्वास आयोजकको छ । यस वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने उनको दाबी छ ।
लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी हुने नाडाले जनाएको छ । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा रहने छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल रहने छन् ।

७५ हजारले अवलोकन गर्ने अनुमान

१६ भदौसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ७५ हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

शोमा सहभागी हुने एक जना भाग्यशाली अवलोकनकर्ताले हिरो जुम स्कुटर जित्ने अवसर रहेको आयोजकले जनाएको छ ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुई दशकदेखि नेपालमा अटो शोको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्