४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

सक्कली संघीयता कार्यान्वयनमा ल्याउन संविधान संशोधन गर्न लागेको गगन थापाको दाबी

४ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताएका छन् ।

विगतमा पनि नेपाली काँग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्देश्य लिएर सरकार बनाएका थिए त्यसलाई पूरा गरेको बताउँदै उनले वर्तमान सरकार साढे ३ वर्ष नै चल्ने र कुनै पनि उथलपुथल नहुने दाबी गरेका हुन् ।

मंगलवारदेखि लुम्बिनीमा शुरु भएको नेपाली काँग्रेस रुपन्देहीको ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेको उपद्रोलाई आफूहरूले रोक्ने र काँग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म नै चल्ने दाबी गरेका हुन् ।

‘नेकपा एमालेको उपद्रो रोक्छौँ, काँग्रेसको चकचक गर्ने बानी पनि छैन । चकचक पनि गर्दैन । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले भने ।

‘काँग्रेस र एमालेको सरकार पहिलो पटक अहिले बनेको त होइन । यसभन्दा अघि २०४७ सालमा, २०५६ सालमा, २०६२÷६३ सालमा २०७० सालमा दुई दल मिलेर सरकार बनेको प्रसंङ उल्लेखसमेत गर्नुभयो । त्यो बेला जे गर्छौ भनेका थिए । त्यो पूरा भएका छन् । अहिले पनि भनेको कुरा पूरा हुन्छ,’ उनले भने ।

महामन्त्री थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने भन्दै संविधानलाई चलायमान बनाउन आवश्यक रहेको चर्चा गरे । थापाले अहिलेको संघीयता नक्कली भएको भन्दै संविधान संशोधन गरेर सक्कली संघीयता कार्यान्वयनमा ल्याउने प्रष्ट पारे ।

यस्तै महामन्त्री थापाले काँग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हुने जनाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएको बताए । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरू जनताभन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए ।

नेपाली काँग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताए । ३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, डा. सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिने र कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्