१० मंसिर २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

सिक्किम सरकारले सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गर्ने

६ भाद्र, काठमाडौँ । भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरूमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ । राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य गर्ने बताइएको छ ।

सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरू, राजपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ ।’

मुख्यमन्त्री पिएस गोले हिजो मात्रै ३३ औँ नेपाली भाषा मान्यता दिवसमा सहभागी भएका थिए । सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४ ९१०ले नेपाली भाषालाई आठौँ अनुसूचीमा राखेको दिनलाई नेपाली भाषा मान्यता दिवसको रूपमा भारतका नेपाली भाषी नागरिकहरूले मनाउँदै गरेका छन् ।

नेपाली भाषाको यो मान्यता दिलाउन सिक्किमको योगदान मानिन्छ । खासगरि तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीलाई यसको जस दिने गरिएको छ । तर, भारतका आसाम, मेघालय, दार्जिलिङ लगायतका क्षेत्रका नेपाली भाषी भारतीयहरूले पनि यो माग जोडदार रूपमा उठाएका थिए ।

मंगलबारको कार्यक्रममा बोल्दै मुख्यमन्त्री गोलेले संविधानले मान्यता दिएपनि नेपाली भाषाको विकास र वृद्धिमा स्थिरता आएको भन्दै चिन्ता व्यक्त गरेर भाषण गरेको भाइस अफ सिक्किमले उल्लेख गरेको छ । गोलेले मंगलबार गरेको चिन्ताको भोलिपल्टै आज नेपाली भाषालाई विज्ञापन तथा राजपत्रमा अनिवार्य गर्ने नियम सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्