५ आश्विन २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

भलिबल टिमलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका चार टिमलाई शनिबार नगद रकमसहित सम्मान गरेको छ । संघले काठमाडौंमा एक कार्यक्रम गर्दै काभा बिच भलिबलका स्वर्ण र रजतपदक विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत र काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको कांस्यपदक विजेता टिमलाई पुरस्कार प्रदान गरेको हो ।

काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टिमका खेलाडीलाई जनही एक लाख दुई हजार रुपैयाँ प्रदान गरियो । उक्त टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले पनि एक लाख दुई हजार प्राप्त गरे । सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार रुपैयाँ प्रदान गरियो ।

भुटानमा भएको काभा बिच भलिबलमा नेपाली महिला टिमले स्वर्णपदक जितेको थियो । पुरुष टिमले रजतपदक जितेको थियो । स्वर्ण विजेता कमला पुन र मनीषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले ३० हजार रुपैयाँ प्राप्त गरे । बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमका प्रशिक्षक रहेका रुपेश विष्टले ४० हजार रुपैयाँ पाए ।

यस्तै, माल्दिभ्समा भएको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा कांस्यपदक विजेता टिमका खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउन्डेसनकी अध्यक्ष रामकुमारी झाँक्रीलगायत व्यक्तिले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्