३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार विचार समाचार समाज

पितृसतात्मक टक्सिक (विचार) 

पितृसताले शासक, पुरूष तथा छोरालाई बढी महत्त्व दिन्छन् र महिलालाई पुरूषको मातहतमा राख्ने सोच राख्छन् । महिलालाई कहिले देवी बनाए । कहिले सतिप्रथाको नाममा बली चढाए । देवी बनाउनुमा पनि पितृ सतात्मक टक्सिकको ठूलो स्वार्थ लुकेको छ ।

प्राचीन इतिहास हेर्ने हो भने, मानिस जुन पदार्थबाट भयभित हुन्थे त्यसलाई देवी, देवतामा परिणत गर्थे । सूर्य, चन्द्रमा, आकाश, हावा र वर्षालाई देवता मान्नु यसैको उपज हो । यसको अर्थ महिलालाई देवी मान्न थाल्नु पितृसतावादले गरेका नराम्रा कामहरूप्रति पश्चाताप गर्दै देवीको अगाडि झुके करूणाद्वारा माफ गरिदिन्छिन् भनेर नारीलाई देवी बनाएको देखिन्छ ।

नारीलाई नारी रह्न दिनु समतामूलक र आधुनिक समजवादको माग हो । हुन त हाम्रो समाजमा जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिइन्छ । विदेशबाट आएका पाहुनालाई अर्कोपल्ट नफर्किने गरी गाली र बेज्जत गरेर पठाइन्छ । केही दिन अगाडि पशुपतिमा भएको कोटी होममा आएका नेपाली चेलीहरू चन्द्रकला सखी र देवी प्रतिभालाई गाली र बेज्ज्त गरेर पठाए । गाली र बेज्जत गर्नु जरूरी थियो ?

गल्ती सबैबाट हुन्छ । कसैले बोलेको वा गरेको काम मन नपरे उसले यस्तो नबोलेको वा नगरेक भए हुन्थ्यो मात्र भने गलत बोल्ने वा गर्नेलाई अवश्य अनुभव हुन्छ कि उसले गलत गरेछ । हुन त छोरीलाई भ्रुणमै हत्या गरेको, दहेजको निहुमा स्वास्नीलाई जिउँदै आगोमा झोस्ने समाजमा छौँ हामी । गाली र गलत टिप्पणी गर्नु हाम्रो समाजमा सामान्य भइसकेको छ । तर अरूको मानसिक स्थितिमा कस्तो असर पर्छ भनेर किन सोच्द‌नौँ हामी ? यस्तो नि समाज हुन्छ ? भारतीय चेली मौमिता देवनाथको घटना सेलाउन नपाउँदै नेपाली चेली ममता काफ्ले हिंसामा परिन् । दुबैको मृत्यु भयो ।

दिनदिनै यस्ता कयौँ हिसात्मक घटनाहरू घटिरहेका छन् । हामीले छोरीलाई हिंसा बिरूद्ध आवाज उठाउन सिकाइरहेका छौँ तर छोरालाई हिंसा नगर्न कुनै अभ्यास गराइरहेका छैनौँ । अनि भन्छौँ, छोराहरूले छोरीहरूमाथि हिंसा गरे । छोराहरूलाई पनि सानै उमेरदेखि हिंसा गर्नै नहुने संस्कार दिन हामी बिर्सिरहेका छौँ । आफ्ना छोरीहरूलाई गुड टच र ब्याड टच बारे सिकाइरहेका छौँ तर, छोराहरूलाई कहाँ, कहाँ र कसरी, कसलाई टच गरे ब्याड टच भनिन्छ भनेर सिकाउन सकेका छैनौँ । छोरीलाई सिकाउने छोरालाई नसिकाउने पुरातनवाद र यथास्थितिवादकै अर्को रूप हो ।

यसले के देखाउछ भने छोराले जे गरे पनि हुन्छ तर, छोरीले आफै गुड टच र ब्याड टच पत्ता लगाएर यौन हिंसाबाट बच्नुपर्छ । छोराछोरी दुबैलाई हिंसा, बलात्कार, गुड टच र ब्याड टचबारे अभ्यस्त गराउनु जरूरी छ । बौद्ध दर्शाअनुसार वस्तुमा हुने परिवर्तन एक्कासी घट्ने घटना होइन । त्यसको बीउ पहिले रोपिसकेको हुन्छ । हेराक्लिटसले पनि कुनै घटना संयोगवश घट्दैन भन्ने कुरा अघि सारेका छन् छोराछोरीहरू वैवाहिक जीवनमा खुसी छैनन् भने पितृसतात्मक टक्सिक समाजले मिलेरै बस्नुपर्छ ।

जतिसक्दो छिटो बच्चा जन्माऊ ताकि तिमीहरूको दाम्पत्य जीवन सुध्रिन्छ भन्ने सल्लाह दिन्छ । उनीहरूको जीवनमा केही परिवर्तन भएको छ । दुर्घटना घट्ने सम्भावना छ भन्ने कुरा बुझेर पनि बेज्जत हुने भयले मिलाउने प्रयास गर्छन् । खुसी छैन भने अलग हुनुपर्छ । एक्लै बस् भनेर सल्लाह दिँदैन । यसैको परिणाम स्वरूप छोरीहरू हिंसामा परेर मार्छन् । यसमा सामाजिक तत्वहरू, पितृसतात्मक टक्सिक, सामन्तवादी विचार र संस्कृति हावी छ। द्वन्द्ववादको कुरा गर्ने हो भने पश्चिमी देशहरूभन्दा पहिले हाम्रो समाजमा द्वन्द्वको सुरूवात भएको पाइन्छ ।

छोराछोरीहरूको दाम्पत्य जीवनमा द्वन्द उत्पन्न भइरहेको छ भने मिलेर बस्न सुझाव दिन्छ तर, छुट्न भन्दैन यसको परिणामस्वरूप हिंसाको रूप लिन्छ । द्वन्द्व उत्पन्न हुन दिनु हूँदैन यदि द्वन्द उत्पन्न भए आफन्त, समाज, परिवार र साथीहरूले के सोच्छन् भन्ने कुरा नसोचेर त्यस्तो सम्बन्धबाट अलग हुनुपर्छ । बाटाहरू अनेक छन् । जुन बाटोमा सुख र शान्ति मिल्छ त्यो बाटो रोज्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन ।

तोओवादका प्रणेता लाओ त्सेले मानव निर्मित खनुशासन, मर्यादा, चालचलन र रीतिरिवाजलाईभन्दा प्राकृतिक सवत्न्त्रतालाई बढी महत्तव दिन्छन् । यहाँ प्राकृति स्वतन्त्रतामा नारी र पुरूषले पाउनुपर्ने स्वतन्त्रता पनि पर्छ । छोराछोरीलाई स्वतन्त्र रूपमा रह्न नसिकाउने अनि छोरी सुरक्षित छैन भनेर रोइलो गर्ने ? छोरीलाई सुरक्षित राख्नु छ भने छोरालाई असल संस्कार दिनुपर्छ ।

छोराछोरीहरू दुबैलाई घर, परिवार, आफन्त र समाजबाटै अहिंसा, एकअर्कालाई सम्मान, मानव जीवनको महत्त्व, मानवता र स्वतन्त्राबारे अभ्यास गराउनु जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्