५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

भरतपुर महानगरद्वारा २ सय ६६ विद्यार्थीलाई छात्रवृत्ति वितरण

१० भाद्र, भरतपुर (चितवन) ।  भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् ।

महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् ।

प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरिन् । उनले भनिन्, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उनले बताइन् । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आइतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने । तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् ।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्