मिर्गौला दान गरेका व्यक्तिले के-के कुरामा ध्यान दिनुपर्छ ?
१० भदौ, काठमाडौँ । मानव शरीरका महत्वपूर्ण अङ्ग भएकाले दुईमध्ये एउटा मिर्गौला दान गरेपछि दान गर्ने व्यक्तिको बाँकी जीवन कसरी बित्छ होला ? केही समस्या पो निम्तिन्छ कि ? यी प्रश्न मनमा हुनसक्छ ।
नेसनल अर्गन एण्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेसनका अनुसार सामान्य जीवन जिउनका लागि एउटा स्वस्थ मिर्गौला पर्याप्त हुने भएकाले जिउँदो व्यक्तिले सबैभन्दा बढी दान गर्ने अङ्ग मिर्गौला हो । एउटा मिर्गौलाले दुवै मिर्गौलाको काम गर्न सक्छ । दुवै मिर्गौलाले ४० देखि ५० प्रतिशतसम्म काम गर्छ, तर एउटा मात्र मिर्गौला लिएर जन्मिएमा वा एउटा मिर्गौला दान गरिसकेको व्यक्तिको बाँकी मिर्गौलाले ७५ प्रतिशतसम्म काम गर्न सक्छ । त्यसैले एउटा मिर्गौला भएपनि जीवन सामान्य हुन्छ ।
कसले गर्न मिल्छ मिर्गौला दान ?
मिर्गौला दान लिनुअघि दातालाई कुनै गम्भीर रोग (जस्तै- मधुमेह, हृदयघात वा क्यान्सर) भए नभएको र उसको दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ भनी सुनिश्चित गरिन्छ । जसले गर्दा एउटा मिर्गौला दान गरेपछि पनि एउटा मिर्गौलाले सामान्य जीवन जिउन सकियोस् । स्वस्थ व्यक्तिले मात्र मिर्गौला दान गर्न मिल्छ ।
मिर्गौला दान गरेका व्यक्तिले ध्यान दिनुपर्ने कुरा
तीनदेखि ६ हप्ता आराम गर्ने
मिर्गौला निकाल्दा चिरेर गरिने शल्यक्रिया र ल्याप्रोस्कोपी दुईवटा विधिबाट मिर्गौला निकालिन्छ । पछिल्लो समय ल्याप्रोस्कोपी विधि नै बढी प्रयोग हुन्छ । मिर्गौला निकालेपछि दाताको शरीरमा घाउ हुन्छ । त्यो घाउ निको हुन्छ तीनदेखि ६ हप्ता लाग्छ । त्यसैले यो समय आराम गर्नुपर्छ ।
उचित हेरचाह
मिर्गौला दान गरेपछि आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । डाक्टरको सल्लाह र निर्देशन पालना गर्नुपर्छ । हरेक वर्ष डाक्टरले तोके बमोजिम मेडिकल चेकअप गराउनुपर्छ ताकि भविष्यमा कुनै स्वास्थ्य समस्या देखा परेमा त्यसको उचित उपचार गर्न सकिन्छ ।
प्रशोधित खाना कम खाने
साथै धेरै नुन भएको र तारेको, भुटेको-फास्टफुड जस्ता खानेकुरा कम खानुपर्छ । धेरै नुनको सेवन उच्च रक्तचापको प्रमुख कारण हो । त्यसैले तारेको खानेकुरा र फास्टफुडले कोलेस्टेरोल बढाउँछ, जसले गर्दा मिर्गौला र मुटुको स्वास्थ्यमा असर पर्न सक्छ ।
तौल नियन्त्रणमा राख्ने
तौल नियन्त्रणमा राख्नुपर्छ । अंगदान गरेपछि तौल बढ्यो भने मधुमेह, मुटुरोग र उच्च रक्तचाप निम्त्याउन सक्छ र स्वास्थ्य बिग्रिन सक्छ । त्यसैले तौल नियन्त्रणमा राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ । दैनिक कम्तीमा ४५ मिनेट सक्रिय रहँदा हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ र मानसिक स्वास्थ्यमा पनि सुधार हुन्छ ।
गाह्रो किसिमको खेल नखेल्ने र व्यायाम नगर्ने
शल्यक्रिया गरेको ६ हप्तासम्म जटिल खालको व्यायाम गर्नु हुँदैन । दीर्घकालीन रुपमा पनि बक्सिङ, कुस्ती, कबड्डी जस्ता शरीरमा चोट लाग्न सक्ने सम्भावना भएको खेल खेल्नु हुँदैन । साथै भारी व्यायाम गर्नबाट पनि बच्नुपर्छ । मिर्गौला दाताले हल्का व्यायाम वा प्राणायाम मात्र गर्नु राम्रो हुन्छ ।
चुरोट, रक्सी सेवन नगर्ने
मिर्गौला दान गरेका व्यक्तिले चुरोट र रक्सीको सेवन गर्नुहुँदैन । चुरोट र रक्सीले क्यान्सर, मुटुरोग र अन्य धेरैजसो रोग निम्त्याउँछ त्यसैले यसबाट बच्नुपर्छ । जथाभावी पेनकिलर (पीडा निवारक औषधि)को प्रयोग गर्नुहुँदैन ।
पेनकिलरको जथाभावी सेवनबाट बच्नुपर्छ । पेनकिलर औषधिले मिर्गौलालाई असर गर्छ । यसले मिर्गौला फेल हुनुका साथै पेटमा अल्सर पनि निम्त्याउन सक्छ । त्यसैले आफूखुसी जथाभावी औषधि तथा पेनकिलरको सेवन गर्नु हुँदैन ।
उच्च रक्तचाप र मधुमेह नियन्त्रण
मिर्गौला दान गरेको व्यक्तिमा एउटा मात्र मिर्गौला हुँदा लगभग १० देखि १५ प्रतिशतमा प्रेसरको समस्या देखिन सक्छ । दुईदेखि तीन प्रतिशतमा मधुमेहको समस्या देखिन सक्छ ।
यस्तो भएमा उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा राख्नुपर्छ । नियन्त्रणमा नहुँदा यसले मिर्गौलामा क्षति पुर्याउन सक्छ । त्यसैले समय-समयमा रक्तचाप र सुगरको जाँच गरिरहनुपर्छ । उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । हरेक ६ महिनामा रगत परीक्षण, पिसाब परीक्षण र अल्ट्रासाउन्ड गरी मिर्गौलाको कार्य नियमित जाँच गराउनु राम्रो हुन्छ ।
साथै दान गरिसकेपछि एउटा मात्र मिर्गौलामा सानो ढुङ्गा पलायो भने पनि त्यसलाई निकालिहाल्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्